नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दा नगरपालिकामा कसको अबस्था कस्तो ?

ओखलढुङ्गान्युज २३ बैशाख, ओखलढुङ्गा स्थानीय तहको निर्वाचन २०७४ मा जिल्लामा रहेका कम्युनिष्ट घटकहरु बलियो रुपमा प्रस्तुत भएपनि स्थानीय निर्वाचनमा निर्वाचित हुन सकेनन् । स्थानीय तहको निर्वाचनको सिकाई पश्चात मंशिरमा भएको संघ र प्रदेशको निर्वाचनमा जिल्ला कम्युनिष्टमय बनेको थियो भने केन्द्रमा दुई तिहाई बहुमतका साथ कम्युनिष्टको सरकार निर्माण भएको थियो । 

स्थानीय निर्वाचन २०७९ नजिकिए सँगै स्थानीय तहको निर्वाचन २०७४ मा कुन राजनीतिक पार्टीको अबस्था कस्तो थियो भनेर समीक्षा गर्न थालिएको छ । स्थानीय निर्वाचन २०७४ मा आफ्नो पार्टीलाई प्राप्त भएको मत र पाँच वर्षको अबधीमा थपिएका मतदाताको संख्यालाई हिसाब गरेर कुन् स्थानीय तहमा कुन पार्टीको पल्ला भारी भनेर हिसाब गर्न थालिएको छ । अहिलेको चुनावमा कतै सिंगल त कतै गठबन्धन सहितका पार्टीहरु चुनावी मोर्चामा रहेका छन् ।

यसै सन्दर्भमा सिद्धिचरण नगरपालिकामा रहेका १२ वडा तथा नगरपालिका प्रमुख र उपप्रमुखमा कुन पार्टीले कति मत पाएका थिए भनेर तथ्यांक प्रस्तुत गरिएको छ ।

सिद्धिचरण नगरपालिका ओखलढुङ्गा

सिद्धिचरण नगरपालिकाको प्रमुखमा २०७४ मा ७ जनाले दाबी गरेको भएपनि बिशेष गरेर नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका बिचमा प्रतिष्पर्धा देखिएको थियो । प्रतिष्पर्धामा नेपाली कांग्रेसका डिल्लीराम खनाललाई १२६ मतान्तरले पछि पार्दै सिद्धिचरण नगरपालिकाको प्रमुखमा नेकपा एमालेका मोहन कुमार श्रेष्ठले विजयी हासिल गरेका थिए । निर्वाचित श्रेष्ठले  ४ हजार ७३९ मत पाएका थिए । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी खनालले ४ हजार ६१३ मत पाएका थिए । नेकपा माओवादी केन्द्रका रुपेश शाक्यले १ हजार २६३ मत प्राप्त गरेका थिए ।

त्यसैगरी नगरपालिकाका उपप्रमुख पदमा पनि नेकपा एमालेका ईच्छा कुमारी गुरुङ, नेपाली कांग्रेसका हेमा लक्ष्मी राई तथा नेकपा माओवादी केन्द्रका चन्द्र कुमारी शर्माका बिचमा उच्च प्रतिष्पर्धा देखिएको थियो । प्रतिष्पर्धामा कांग्रेसका राईलाई ३६२ मतले पछि पार्दै एमालेकी गुरुङ निर्वाचित भएकी थिईन् । निर्वाचित गुरुङले ४ हजार ८ सय २६ मत पाएकी थिईन भने कांग्रेसकी राईले ४ हजार ४६४ मत पाएकी थिईन । त्यस्तै माओवादी केन्द्रकी शर्माले १ हजार ३४८ मत पाएकी थिईन् ।

नगरपालिकाको वडा नं. १ मा पनि नेकपा एमालेका केदारबाबु बस्नेतले नेपाली कांग्रेसका तिर्थ घिमिरेलाई १९ मतले पछि पार्दै विजयी भएका थिए । एमालेका बस्नेतले ४६६ मत पाएका थिए भने कांग्रेसका घिमिरेले ४४७ मत पाएका थिए । वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उमेद्वार टेकराज कोईरालाले भने २४ मत पाएका थिए ।

वडा नं. २ मा पनि तिन पार्टीका बिचमा कडा प्रतिष्पर्धा देखिएको थियो । तथापी आफ्ना निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बशन्त कटवाललाई ७० मतान्तरले पछि पार्दै एमालेका कृष्ण बहादुर कार्की निर्वाचित भएका थिए । एमालेका निर्वाचित कार्कीले ४७१ मत पाएका थिए भने माओवादी केन्द्रका कटवालले ४०१ मत पाएका थिए । त्यस्तै नेपाली कांग्रेसका उमेद्वार कुमार बहादुर कटवालले ३२२ मत पाएका थिए । यहाँ स्थानीय तहको निर्वाचन २०७९ का लागि समाजवादी जनता पार्टी र नेकपा एकिकृत समाजवादी पार्टीका कारण यसपटक चुनाव जित्न जनमत फलामको चिउरा झै बनेको छ ।

त्यस्तै वडा नं. ३ अधेरी नारायणस्थानमा १०५ मतले एमालेका राम बहादुर गुरुङलाई पछि पार्दै नेपाली कांग्रेसका रहरमान राई निर्वाचित भएका थिए । कांग्रेसवाट निर्वाचित भएका राईले ४७२ मत पाएका थिए भने एमालेका गुरुङले ३६७ मत पाएका थिए ।

वडा नं. ४ रुम्जाटारमा एमालेका रत्न बहादुर गुरुङले कांग्रेसका केशब कुमार गुरुङलाई २७७ मतले हराएका थिए । एमालेका निर्वाचित गुरुङले ६४८ मत पाएका थिए भने कांग्रेसका गुरुङले ३७१ मत मात्र प्राप्त गरेका थिए । त्यतीखेर रुम्जाटारमा संघिय समाजवादी र राप्रपाले पनि उपस्थिती जनाएको थियो ।

वडा नं. ५ वर्णालुमा एमालेका कुल प्रसाद दाहालले कांग्रेसका थगेन्द्रराज राईलाई २१४ मतले पछि पार्दै विजयी भएका थिए । एमालेका विजयी दाहालले ४८६ मत पाएका थिए भने कांग्रेसका राईले २७२ मत पाएका थिए । त्यस्तै माओवादी केन्द्रका गुण कुमार राईले पनि २१० मत पाएका थिए । २०७४ को निर्वाचनमा वर्णालुमा स्वतन्त्र सहित वडा अध्यक्ष पदमा ६ जनाले प्रतिष्पर्धा गरेका थिए ।

त्यसै गरि वडा नं. ६ जन्तरखानीमा भएको निर्वाचनमा भने सिद्धिचरण नगरपालिकामा पहिलो पटक माओवादी केन्द्रले खाता खोलेको थियो । जन्तरखानीमा माओवादी केन्द्रका मदन बहादुर मगरले कांग्रेसका हर्क बहादुर मगरलाई ३८ मतले पराजित गरेका थिए । निर्वाचित भएका मगरले ३२६ मत पाएका थिए भने कांग्रेसका मगरले २८८ मत पाएका थिए । त्यस्तै एमालेका केशर बहादुर मगरले भने १३० मत मात्र पाएका थिए ।

वडा नं. ७ विगुटारमा कांग्रेसका रणमान भुजेललाई ६ मतले पछि पार्दै एमालेका बम बहादुर राई वडा अध्यक्ष पदमा विजयी भए । एमालेका राईले ४०९ मत पाएका थिए भने कांग्रेसका भुजेलले ४०३ मत पाएका थिए । त्यहाँ माओवादी केन्द्रका उमेद्वार आङ्तेञ्जी शेर्पाले जम्मा ८५ मत पाएका थिए ।

उता वडा नं. ८ सल्लेरीमा भने कांग्रेस र एमालेका वडा अध्यक्षका उमेदवारले बराबरी मत पाएपछि चिठ्ठा टिपाउनु परेको थियो । चिठ्ठा टिप्दा सल्लेरीमा नेपाली कांग्रेसका हेम बहादुर तामाङ विजयी बने । एमालेका बुद्धिमान तामाङ र विजयी भएका कांग्रेसका तामाङले समान ३४६ मत प्राप्त गरेका थिए । त्यहाँ माओवादी केन्द्रका पृथ्वी बहादुर तामाङले ८१ मत पाएका थिए ।

वडा नं. ९ ज्यामिरेमा एमालेका तेज नारायण श्रेष्ठलाई ८६ मतले पछि पार्दै कांग्रेसवाट दान बहादुर बानिया विजयी बने । कांग्रेसका बानियाले ४६९ मत पाएका थिए भने एमालेका श्रेष्ठले ३८३ मत पाएका थिए । त्यस्तै माओवादी केन्द्रका टोकल श्रेष्ठले पनि ज्यामिरेमा ३२ मत पाएका थिए ।

त्यस्तै वडा नं. १० बेतिनीमा पनि कांग्रेसका गुणराज धमलालाई १४१ मतले हराउदै एमालेका दामोदर धमला विजयी बने । एमालेका धमलाले ४२७ मत पाएका थिए भने कांग्रेसका धमलाले २८६ मत पाएका थिए । त्यस्तै बेतिनीमा माओवादी केन्द्रका सन्तोष मगरले पनि १९९ मत पाएका थिए ।

जिल्लाका सदरमुकाम रहेको एमालेको गढ मानिएको वडा नं. ११ र १२ रहेको ओखलढुङ्गा बजार पनि एमाले र कांग्रेसले बाडेका थिए । वडा नं. ११ मा एमालेका मोहन केसी लाई ९३ मतले हराउदै कांग्रेसका विनोद कुमार केसी निर्वाचित बने । एमालेका केसीले ३८२ मत पाएका थिए भने कांग्रेसवाट निर्वाचित बनेका केसीले ४७५ मत पाएका थिए । यहाँ माओवादी केन्द्रका सविन विश्वकर्माले २६ मत पाएका थिए ।

त्यस्तै वडा नं. १२ मा भने कांग्रेसका उमंग श्रेष्ठलाई जम्मा १७ मतले पछि पार्दै एमालेका विनोद कुमार श्रेष्ठ विजयी बनेका थिए । कांग्रेसका श्रेष्ठले २३६ मत पाएका थिए भने एमालेका निर्वाचित श्रेष्ठले २५३ मत पाएका थिए । यहाँ माओवादी केन्द्रका कूल बहादुर नेपालीले भने ५० मत पाएका थिए ।

यसरी हेर्दा आगामी स्थानीय तहको निर्वाचन २०७९ मा एमाले ईतरको गठबन्धनका कारण एमालेले विजयी हात पारेको नगरपालिकाको प्रमुख÷उपप्रमुख सहितका केहि वडाहरुमा समेत आफ्नो साख जोगाउन धौ धौ हुने देखिन्छ । माओवादीका केहि कार्यकर्ता एमालेमा प्रबेश गराएकोल आफ्नो उमेद्वारहरुले नगरपालिकामा जित्नेमा एमाले ढुक्क देखिन्छ भने एमालेवाट फुटेका एकिकृत समाजवादी गठबन्धनमा भएका कारण नगरपालिका लगायत नगरपालिकाका अधिकांश वडा जित्नेमा अन्य दलहरु ढुक्क देखिन्छन्