नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गाका कैदीलाई सांसद सुनुवारको खसी उपहार

ओखलढुङ्गान्युज, कात्तिक , २०७७ ओखलढुङ्गा ओखलढुङ्गाका सांसद माननिय यज्ञराज सुनुवारले कैदीवन्दिलाई खसी उपहार दिएका छन् । दशैंको अवसर पारेर प्रतिनिधी सभाका सांसद सुनुवारले आईतवार जिल्ला कारागारमा नै पुगेर जेल जिवन विताई रहेका कैदीहरुलाई खसी उपहार दिएका हुन् ।

विभिन्न समयमा विभिन्न घटनाहरुमा संलग्न भएर कानून बमोजिम कार्बाही भोगिरहेको भएपनि उहाँहरुको मानविय संबेदनालाई ख्याल गरेर चाडपर्वको समयमा कैदीलाई आफुले सम्झिएको सांसद सुनुवारले बताउनुभयो । कानुन भन्दा माथि कोही पनि हुन नसक्ने भन्दै आ–आफ्नो अपराध अनुसारका कानुनले तोकेको सजाय भुक्तानी गरिरहेका बेलामा पर्वको समयमा आफुले सम्झिएको र त्यसलाई मिलेर बाडीचुडी लिन सांसद सुनुवारले आग्रह गर्नुभयो ।

२०७० सालदेखि देखि दशैको समय पारेर कैदीबन्दिलाई सांसद सुनुवारले खसी सहयोग गर्दै आउनुभएको छ । संबिधान सभाको निर्वाचनमा निर्वाचित भएयता सांसद सुनुवारले हरेकवर्ष कैदी बन्दिलाई खसी उपहार दिँदै आउनुभएको छ । खसी उपहार दिन कारागार पुग्नुभएका सांसद सुनुवार, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल लगायतलाई कैदीबन्दिले आफुले बुनेको ढाकाटोपी उपहार दिएर पठाएका छन् ।

हाल जिल्ला कारागार ओखलढुङ्गामा ३१ बन्दि र ४४ कैदी गरि ७५ जना कैदीबन्दि छन् । उनीहरु मध्ये ७० जना पुरुष र ५ जना महिला छन् । जिल्ला कारागार ओखलढुङ्गाको क्षमता भने ५५ जनाको मात्रै हो ।