नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

हिन्दूहरुको महान चाड बडादशैं सुरु, आज घटस्थापना

ओखलढुङ्गान्युज, कात्तिक , २०७७ काठमाण्डौं हिन्दुहरुको महान्चाड बडादशैं आजबाट शुरु भएको छ । वडादशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नवरात्रको पहिलो दिन आज शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

घटस्थापनाको दिनदेखि नवरात्र सुरु हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

घटस्थापनाको उत्तम साइत आज शनिवार बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विसर्जनको साइत कात्तिक १० गते बिहान १०ः११ बजे रहेको र टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १०ः१९ बजेको साइत उत्तम रहेको छ ।