नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा १ सय ४६ जनाको आरडिटी परीक्षण, सबै रिपोर्ट नेगेटिभ

ओखलढुङ्गान्युज, बैशाख ७, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाका सबै स्थानीय तहहरुमा कोरोना भाईरस संक्रमणको बारेमा आरडिटी परीक्षण सम्पन्न भएको छ । जिल्लाका सबै स्थानीय तहमा पहिलो चरणको आरडिटी परीक्षण सम्पन्न भएको हो । पहिलो चरणको परीक्षणमा ओखलढुङ्गा १ सय ४६ जनाको परीक्षण गरिएको छ ।

चिशंखुगढी बाहेक जिल्लाका सातओटै स्थानीय तहमा गरिएको आरडिटी परीक्षणमा सबै परीक्षण नेगेटिभ आएको जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन एवम् जिल्ला जनस्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । यो समाचार तयार पार्दै गर्दा चिशंखुगढी गाउँपालिकाको ४ जनामा भने आरडिटी परीक्षण गर्न बाकी रहेको छ । जिल्लामा पहिलो चरणमा बैदेशिक रोजगारका लागि भारत लगायत विदेशमा रहेर ओखलढुङ्गा फर्किएकालाई प्राथमिकतामा राखी परीक्षण गरिएको थियो ।

पहिलो चरणको आरडिटी परीक्षण सगै ओखलढुङ्गामा पुन आरडिटी किट्स सकिएको छ । भारत लगायतका देशहरुवाट जिल्ला भित्रिनेहरुको संख्या दिनानुदिन बढि रहेकोले उनीहरुको पनि आरडिटी परीक्षण गर्नुपर्ने भएकोले स्थानीय तहहरुवाट तथ्यांक संकलन भै रहेको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ । जिल्ला भित्रिनेहरुको संख्या प्राप्त भैसकेपश्चात पुन प्रदेशवाट आरडिटी किट्स मगाएर आरडिटी परीक्षण गरिने पनि कमाण्ड पोष्टका फोकल पर्सन तिवारीले जानकारी दिनुभयो ।

ओखलढुङ्गा भन्दा बाहिर जिल्लाबाट जिल्ला भित्रिएकाहरुलाई कम्तिमा १४ दिन सम्म अनिवार्य रुपमा होम क्वारेन्टाईनमा बस्न जिल्ला कमाण्ड पोष्टले अनुरोध गरेको छ ।