नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

संभावित कोरोना संक्रमितको स्वाब पठाउन ओखलढुङ्गामा भिटिएम अभाव

ओखलढुङ्गान्युज, चैत २५ ओखलढुङ्गा विदेशवाट घर फर्कनेको संख्या ओखलढुङ्गामा बढेपश्चात कमाण्ड पोष्ट ओखलढुङ्गाले प्रदेश कार्यालयसँग भाईरस ट्रान्सफर मिडिया (भिटिएम) माग गरेको छ । कोरोना भाईरस नियन्त्रण तथा रोकथाम जिल्ला संयोजन समिति कमाण्ड पोष्टको शोमबार बसेको बैठकले निर्णय गर्दै प्रदेश सरकारसँग उक्त सामाग्री माग गरको हो ।

केही दिन अगाडी बसेको नेपाल सरकारको मन्त्रिपरिषदको बैठकको निर्णयले बैदेशिक रोजगार तथा अन्य कारणले विदेश गएर फर्किएकाहरुलाई कम्तीमा दुईहप्ता क्वारेन्टाईन राख्नुपर्ने निर्णय गरेको थियो । उनीहरुमा कोरोना संक्रमणको अवस्था प्रबल हुने भन्दै उनीहरुको स्वाब टेष्टलाई तिब्रता दिने निर्णय समेत गरेको थियो । संभावित संक्रमितहरुको स्वाब परीक्षणका लागि ओखलढुङ्गाबाट धरान सम्म लैजान हवाई माध्यम नभएको र स्थलगत माध्यमबाट स्वाब पठाउनुपर्ने बाध्यता छ ।

स्वाबलाई अस्पताल सम्म पुर्याउदा भाईरस मरिसक्न सक्ने र वास्तविक रिपोर्ट नआउन सक्ने भएकोले स्वाबलाई जस्ताको तस्तै पठाउनका लागि भाईरस ट्रान्सफर मिडिया (भिटिएम) माग गरेको ओखलढुङ्गा कमाण्ड पोष्टले जनाएको छ । शोमबार बसेको कमाण्ड पोष्टको बैठकले तत्कालका लागि १ सय ५० थान भाईरस ट्रान्सफर मिडिया (भिटिएम) जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार मार्फत प्रदेश कार्यालयमा माग गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो ।