नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

पाकिस्तानमा भिषण वर्षा, १७ को मृत्यु

ओखलढुङ्गान्युज, फागुन २५, विदेश । पाकिस्तानमा परेको भिषण वर्षातका कारण २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । विहिवार देखी परेको मुसलधारे वर्षापछि आएको बाढीका कारण उनीहरुको  मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

बाढिका कारण मृत्यु हुनेमा महिला तथा बालबालिका रहेका छन् । वर्षातपछि आएको बाढिले देशको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सबैभन्दा नराम्रो प्रभाव परेको बताइएको छ । बाढि आउदा भाग्न नसक्दा बढि महिला र बालबालिकाहरुको ज्यान गएको उद्धारमा सम्लग्न अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले लेखेका छन् ।

भिषण वर्षात पछि आएको बाढि तथा डुवानका कारण देशको खैबर पख्तुनख्वा प्रान्तका ग्रामीण इलाकामा मात्रै १२ जना व्यक्तिको मृत्यु भएको छ । उद्धारकर्मीले कैयौँ अन्य व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरेको पनि बताइएको छ । तर हाल सम्म कतिजना घाईतेको उद्दार गरियो भन्ने वारेमा केही खुलाईएको छैन ।

वर्षापछिको बाढिका कारण कम्तीमा १० घर र एउटा विद्यालयमा क्षति पुगेको तथा स्थानीय स्तरमा लगाईएको ठूलो मात्राको हिउँदे बाली नष्ट भएको पनि पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । भारी वर्षा र हिमपातका कारण पाकिस्तानका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य जनजीवन प्रभावित भएको छ ।

भिषण वर्षात हुने र त्यसवाट क्षति समेत हुन सक्ने भन्दै पाकिस्तानको मौसम विज्ञान महाशाखाले नागरिकहरुलाई सचेत गराएको थियो । गत सोमबार नै बुधबारदेखि देशका अधिकांश स्थानमा वर्षा हुने भन्दै सावधानीका लागि नागरिकलाई सचेत गराएको थियो । अब भने मौसममा सुधार आउने पनि पाकिस्तानको मौसम विज्ञान महाशाखाले जनाएको छ ।