नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

ओखलढुङ्गाको हिलेपानीमा सौर्य मिनिग्रेडको सिलान्यास, वाम्बुले बासुरी दिवस पनि मनाईयो

विवेश श्रेष्ठ, साउन १६ मानेभञ्ज्याङ्ग । ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकाको हिलेपानीमा सौर्य मिनिग्रेड आयोजनाको सिलान्यास गरिएको छ । बुधवार मानेभञ्ज्याङ्ग गाउँपालिकाको वडा नं. ६ हिलेपानी भञ्ज्याङ्गमा आयोजित एक कार्यक्रमका विच संघिय प्रतिनिधीसभाका सांसद यज्ञराज सुनुवार र प्रदेश नं. १ अर्थ समितिका सभापति एवम् प्रदेश सांसद मोहन कुमार खड्काले संयुक्त रुपमा सिलान्यास गर्नुभएको हो ।

सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यज्ञराज सुनुवारले पाँच वर्ष भित्र ओखलढुङ्गालाई अध्यारो मुक्त जिल्ला घोषणा गराउने लक्ष्य अनुसार सौर्य मिनिग्रेड सञ्चालन हुन लागेको बताउनुभयो । विकासका काम अगाडी बढ्न लागेको बेलामा केही मानिसहरुले गलत सन्देश सम्प्रेषण गरि योजना सञ्चालन हुन नदिन प्रयास गरेको आफुले पाएको पनि सांसद सुनुवारले वताउनुभयो । भ्रमवाट मुक्त भै नयाँ ईतिहास रचना गर्नका लागि अघि बढ्न पनि सांसद सुनुवारले आग्रह गर्नुभयो ।

अधेरो हिलेपानीलाई उज्यालो हिलेपानी बनाउने अभियान अनुसार नै सौर्य मिनिग्रेड सञ्चालन हुन लागेको भन्दै सांसद सुनुवारले यहाँ बत्तिबाल्ने ग्यारेन्टी आफुले लिने पनि बताउनुभयो । सांसद सुनवारले भन्नुभयो, ‘केही मानिसहरुले सौर्य विजुली बालेमा केन्द्रिय लाईनको बत्ति बाल्न पाउदैनन् भनेर भ्रम छरेका रहेछन् । त्यसैले असहयोग गरेको पनि पाईयो । तर केन्द्रिय विद्युत प्रसारण लाईन आउनसाथ यस सौर्य मिनिग्रेडका उपभोक्ताहरुको घरमा पनि बत्ति जोड्ने जिम्मा म लिन्छु । बौद्धिक व्यक्तित्वहरु कोही हुनुहुन्छ भने कृपया भ्रमको खेती नगरिदिनुस् । तपाईको भलो यसैमा हुनेछ ।’

त्यस्तै प्रदेश नं. १ का अर्थ समितिका सभापति एवम् प्रदेश सांसद मोहन कुमार खड्का हिमशिखरले हिलेपानी र जयरामघाटलाई पर्यटन केन्द्रको रुपमा विकास गर्नका लागि पूर्वाधारको काम सुरुवात भएको बताउनुभयो । सुख्खाग्रस्त क्षेत्रलाई हरियाली बनाई यो क्षेत्र पर्यटन विकासको सम्भावना बोकेको स्थान पनि भएकोले पहिलो सर्त खानेपानी तथा विजुली भएको बताउदै तीनै कुराहको पूर्वाधार विकासका लागि संघ सरकार तथा प्रदेश सरकारवाट समेत बजेट विनीयोजन गरिएको खड्काले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ समितिका सभापति एवम् सांसद खड्काले भन्नुभयो, ‘हिलेपानीमा यो सौर्य मिनिग्रेड सुरुवाती मात्रै हो । पूर्वको पशुपती भनेर चिनिने हलेशी प्रबेश गर्ने मुख्य नाका हिलेपानी हुदै जयरामघाट नै हो । त्यसैले पर्यटकहरुलाई आकर्षणको केन्द्र बनाउनका लागि पनि यस क्षेत्रमा प्रदेश सरकारले विभिन्न योजना बनाएर लिफ्टिङवाट खानेपानीको व्यबस्था, पवित्र स्थल सिद्धधामको पूर्वाधार विकास, जयरामघाटको बजार व्यबस्थितीकरण लगायतको काम गर्दैछ ।

सौर्य मिनिग्रेड सञ्चालनका लागि एशियाली विकास बैंकवाट आर्थिक अनुदान सहयोग प्राप्त भएको छ । त्यस्तै केन्द्र सरकारवाट १५ लाख माननिय यज्ञराज सुनुवारको पहलमा र प्रदेश सरकारवाट १० लाख माननिय मोहन कुमार खड्का हिमशिखरको पहलमा बजेट प्राप्त भएको उपभोक्ता समितिका अध्यक्ष उन बहादुर राईले बताउनुभयो ।

योजनाको कुल लागत रकमको १० प्रतिशत अर्थात करीब ३० लाख उपभोक्ता मार्फत जम्मा गर्नुपर्ने योजना सम्झौतामा उल्लेख छ । सोही सम्झौता अनुसार नै केन्द्र तथा प्रदेश सरकार मार्फत बजेट प्राप्त भएको र त्यो बजेट समेत अपुग हुने भएकोले २ सय ३३ घर उपभोक्ताहरुवाट प्रतिघर धुरी रु २ हजार ५ सय संकलन समेत गरिएको छ ।

लामो समयको प्रतिक्षा पश्चात गाउँमा विजुली बल्न लागेकोमा आफुहरुलाई खुशी लागेको स्थानीय कमला राईले बताउनुभयो । खुशी हुदै कमलाले भन्नुभयो, ‘अहिले सम्म साना नानीहरुले खुलेर उज्यालोमा पढ्न पाईरहेका थिएनन् । अबचाही ठुलै सोलरको पाता राखेर गाउँमा विजुली बल्न लगेको छ । तर सोलारको बत्ति बालेकाले पछि केन्द्रिय विजुली बाल्न पाउदैनन् रे । त्यही भएर दोधारमा छौं ।’

त्यस्तै स्थानीय उपभोक्ता हिमालसरी राईले पनि आजको कार्यक्रमवाट आफुहरु स्पष्ट भएको भन्दै आफ्नो गाउँमा विजुली वाल्नका लागि अब लागि पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मान्छेहरु आउथे । कोही के भन्थे, कोही के । कोही यो सोलारको विजुली बालेमा त अर्को बत्ति वाल्न पाईन्न रे भन्थे । कोही यो वत्ति बालेको त धेरै महंगो पैसा पो तिर्नु पर्छ रे भन्थे । तर आजका कार्यक्रमबाट चाही स्पष्ट भयो ।’

योजना सुरुवात भएको चार महिनामा सम्पन्न गर्ने लक्ष्यका साथ सिलान्यास गरिएको सौर्य मिनिग्रेडको कुल क्षमता ५० किलोवाटको हुनेछ । यो योजना सम्पन्न गर्नका लागि घाम पावर नेपाल प्रा.लि. महाराजगञ्जले भ्याट सहित कूल रकम रु ३ करोड १७ लाख ४४ हजारमा ठेक्का पाएको छ । ठेक्का र आगामी दशै अगाडी नै यहाँका स्थानीयहरुको घरघरमा बत्ति पु¥याउने लक्ष्य अनुसार नै काम थालेको कम्पनीका ईञ्जिनियर सागर फोजुले बताए ।

ईञ्जिनियर फोजुका अनुसार सौर्य मिनिग्रेड सञ्चालनका लागि भौतिक पुर्वाधार देखी उत्पादन समेत परि प्रत्येक घरधुरीमा रहेको मिटर बक्स सम्म वत्ति पुर्याउने काम कम्पनीले गर्नेछ । काम सम्पन्न भएको तिन वर्ष सम्म कुनै प्राबिधिक त्रुटी भएमा कम्पनीले नै व्यहोर्ने छ ।

जग्गादातालाई सम्मान

सिलान्यास कार्यक्रममा स्थानीय केशरी राईलाई सम्मान गरिएको छ । सौर्य मिनिग्रेड सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नका लागि करीब ५ लाख मूल्य बराबरको २ रोपनी भन्दा बढि जग्गा उपलब्ध गराए वापत राईलाई सम्मान गरिएको हो । गाउँमा नै विजुली बल्ने भएपछि घरमा नै बसेर टिभि पनि हेर्न सकिने र फ्रिज राखेर चिसो खान र गर्मीमा फ्यान चलाउन पनि पाईने खुशी आफुलाई लागेकोले जग्गा निशुल्क उपलब्ध गराएको राईले बताउनुभयो ।

वाम्बुले राईको बासुरी दिवस

सिलान्यास कार्यक्रम सगै तेश्रो वाम्बुले बासुरी दिवस पनि मनाईएको छ । साउन १५ सम्म करीब करीब खेतीपातीको काम पनि सकिने भएकोले कामवाट लागेको थकाइलाई बासुरीको धुन सगै रमाईलो मनोरञ्जन लिने संस्कृती वाम्बुले राईमा छ । प्रत्येक वर्ष साउन महिनाको १५ गते बासुरीको धुन जगाई श्रीपञ्चमीको दिनवाट फेरी समापन गर्ने प्रचलन रहेको छ । श्रीपञ्चमी पश्चात फेरी कामगर्ने सिजन लाग्ने भएकोले त्यती फुर्सद नहुने हुदा त्यसैदिन देखी साउन १४ गते सम्म वाम्बुले राईहरुले बासुरी बजाउन हुदैन भन्ने प्रचलन रहि आएको छ ।

त्यही संस्कार र संस्कृतीलाई निरन्तरता दिन हिलेपानीका वाम्बुले राई जातीहरुले विगत तिन वर्षदेखी वाम्बुले बासुरी दिवस मनाउदै आएका छन् । वासुरी दिवसको अवसरमा स्थानीय बासी अमृत बहादुर राई, विनम राई, गोपाल राई, अमृत बहादुर राई, अगम सिंह राई वीर्ख बहादुर राई र शीवश्वर राईले बासुरीको धुन प्रस्तुत गरेका थिए । सिलान्यास कार्यक्रममा स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।