नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

दश वर्षीय अवतारी लामालाई गराईयो गद्दी आरोहण

ओखलढुङ्गान्युज, बैशाख १९ ओखलढुङ्गा । ओखलढुङ्गामा एक दशवर्षिय अवतारी लामालाई गद्धी आरोहण गराईएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाका अवतारी ङ्वाङ तेन्जिन ठिन्ले रिम्पोछेलाई बुधबार एक कार्यक्रमका बिच गद्दी आरोहण गराईएको हो । 

अवतारी ङवाङ तेन्जिन ठिन्ले रिम्पोछेले ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका २ स्थित ङोडुब क्षोलिङ गोन्पाको परम गुरु नोर्बु लामा शेर्पाको पुनःजन्म पाएका हुन् । उनलाई दक्षिण भारतको नाम्ड्रोल लिङ गुम्बाका प्रमुख खेनटुल ग्याङखाङ रिन्पोछेले गद्दी आरोहण गराएको समन्वयकर्ता ङवाङ थुचेन लामाले जानकारी दिए । गद्दी आरोहण (ठिदेन) का लागि भारतबाट अवतारी सहितका विशिष्ठ व्यक्तिहरु नेपाल आएका थिए ।

तेन्जिन शेर्पाको ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका २ रगनीमा २०६५ साल असोज १३ गते जन्म भएको हो । उनका बुबा आङनिमा शेर्पा र आमा दाटी शेर्पा हुन् । उनि ५ वर्ष देखि दक्षिण भारतको नाम्ड्रोल लिङ गुम्बामा अध्ययन गरिरहेका छन् ।

आफन्तका अनुसार बाल्यकालमै उनले आफु नोर्बु लामाको पुुनर्जन्म पाएको बताएका थिए । पछि लामा पढ्न थालेका उनले बौद्धिक मान्यता अनुसार पुुनर्जन्म पाएको पुष्टि गरेका छन् । अघिल्लो जन्ममा भए गरेका सबै काम र योजनाबारे बताएपछि उनलाई अवतारी भएको औपचारिक मान्यता दिईएको थोलेदेम्बा शेर्पा किदुकका अध्यक्ष डेण्डी शेर्पाले बताए । अध्यक्ष शेर्पाले पुनर्जन्म पाएको भन्ने सबै प्रमाण पुरा भईसकेकाले अवतारीको गद्दी आरोहण गराएर औपचारिक मान्यता दिलाएको र यस्तो आफुले थाहा पाएको पहिलो पटक भएको बताउनुभयो ।

नाम्ड्रोल थर्पालिङ् गोन्पा चर्नालुका प्रमुख लामा थुचेनका अनुसार बौद्ध धर्ममा धर्मगुरु (लामा) को मृत्यु भईसकेपछि अर्को व्यक्तिले त्यो लामाको बारेमा सबै भन्न र चिन्न सक्ने मान्छेलाई अवतारी पाएको भन्ने गरिन्छ । सत्य र धार्मीक मान्छेहरुले पुनर्जन्म लिने धार्मीक विश्वास रहेको उनि बताउँछन् । मानिसहरु सबैले पुनःजन्म पाउने भएपनि सबै मानिसलाई आफ्नो पूर्व जन्मको बारेमा जानकारी नहुने तर पुनःजन्म पाएका लामाहरुलाई सबै कुरा थाहा हुने पनि लामा थुचेन बताउनुहुन्छ ।

लामा थुचेनका अनुसार यसरी पुन जन्म पाएका लामाहरुलाई पूर्व जन्मको बारेमा सबै जानकारी हुन्छ । त्यो हो वा होईन भन्ने विषयमा समाजका अगुवाहरु बिच छलफल हुन्छ । पुनर्जन्म लिएको दावी गर्ने लामालाई पहिलेको जन्ममा भएका कामहरु र आफ्ना आफन्त परिवार, धन, सम्पत्ती लगायका बारेमा सोध्ने गरिन्छ । यसरी सबैकुरा मिलाएर त्यो पुष्टिभएमा मात्रै अवतारी मान्यता दिईन्छ । अवतारी मान्यता पाएका व्यक्ति दिवांगत भएपछि अर्को त्यस्तै बालकले बोलि आउँदै आफैंले पूर्वजन्मको बारेमा बतायो र त्यो मिल्यो भने उसलाई दोस्रो अवतारीको मान्यता दिईन्छ ।

१० वर्षिय अवतारी लामाले अब करिब १२ वर्ष दक्षिण भारतमा उच्चतह अध्ययान गरेपछि खेन्पोको उपाधि पाउन योग्य हुनेछन् । केही वर्ष गुम्बामा रहेर गुरुको सेवा गरेपछि खेन्पो उपाधि पाएमा उनि बौद्ध धर्ममा सर्वविज्ञ मानिन्छन् । ओखलढुङ्गामा अवतारी आमा अरुपनि छन् । तर यसरी भव्य समारोहका बिच गद्दी आरोहण गर्ने उनि पहिलो अवतारी लामा हुनेछन् ।