नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गाका दुई परीक्षा केन्द्रमा एसईई परीक्षा सञ्चालनमा ढिलाई

ओखलढुङ्गान्युज, चैत १७ ओखलढुङ्गा । ओखलढुङ्गमा आज भएको एसईई परीक्षमा दुई केन्द्रहरुमा तोकिएको समय भन्दा ढिलो परीक्षा सुरुवात भएका छन् । परीक्षा सञ्चालन हुनुपूर्व प्रश्नपत्र संख्या चेकजाँच गर्नेक्रममा विद्यार्थीको संख्या अनुसारको प्रश्नपत्र नआएका कारण परीक्षा केही समय ढिलाई भएको हो ।

ओखलढुङ्गाको जिल्ला सदरमुकाममा अवस्थित सगरमाथा जनता माद्यमिक विद्यालयमा आज सहभागी हुने ऐच्छिक प्रथमपत्र अन्तर्गत ऐच्छिक गणित विषयको ८७ थान प्रश्नपत्र अभाव भएको थियो । त्यस्तै भूगोल विषय र समाजशास्त्र विषयको कुनैपनि प्रश्नपत्र नै आएको थिएन । भूगोल र समाजशास्त्र विषयको प्रश्नपत्र नआएको विषयमा माद्यमीक शिक्षा परीक्षा बोर्डलाई हिजो नै जानकारी गराईएको थियो ।

परीक्षावोर्डलाई जानकारी गराईएपछि ईन्टरनेटवाट आज परीक्षा सञ्चालन हुने वेलामा मात्रै आईपुगेको कारण त्यसलाई डाउनलोड र प्रिन्ट गरेर विद्यार्थीको हातमा पुर्याउदा थोरै समय परीक्षा सञ्चालनमा ढिलाई भएको सगरमाथा जनता माद्यमिक विद्यालयका सहायक केन्द्राध्यक्ष आनन्दराज राजभण्डारीले जानकारी दिनुभयो । त्यस्तै ऐच्छिक गणित विषयको प्रश्नपत्रलाई पनि फोटोकपी गरेर विद्यार्थीको हातमा पुर्याउदा केही थोरै समय मात्र ढिलाई भएको जानकारी दिनुभयो । तर अन्य विषयका परीक्षा भने समयमा नै सञ्चालन गरिएको पनि सहायक केन्द्राध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको बरुणेश्वर माद्यमीक विद्यालयको परीक्षा केन्द्रमा पनि केही समय ढिलाई गरि परीक्षा सञ्चालन भएको छ । मोलुङ्ग गाउँपालिका वडा नं. ४ मा रहेको गुरुकुल एकेडेमीका विद्यार्थीहरुले दिने संस्कृत विषयको परीक्षामा वेद विद्याश्रमको प्रश्नपत्र हुुनुपर्नेमा संस्कृत मावि तर्फको प्रश्नपत्र परीक्षा केन्द्रमा आएको थियो । परीक्षा सुरुहुनुभन्दा केही समय अगाडी खोलिएको प्रश्नपत्रमा फरक पाएपछि आफुले परीक्षा बोर्डमा जानकारी गराएको र तत्काल नै ईन्टरनेट मार्फत अर्को प्रश्नपत्र निकाली परीक्षा सञ्चालन गरिएको केन्द्राध्यक्ष कुलप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

परीक्षा केन्द्र बरुणेश्वरमा संस्कृत विषयको प्रश्नपत्रमा समस्या भएको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई ओखलढुङ्गाका प्रमुख दामोदर रेग्मीले जानकारी दिनुभयो । त्यस भन्दा बाहेक अन्य परीक्षा केन्द्रमा प्रश्नपत्र अपुग भएको र परीक्षा सञ्चालनमा ढिलाई भएको विषयमा आफुलाई केही जानकारी नआएको ईकाई प्रमुख रेग्मीले बताउनुभयो । विगतका दिन जस्तै आजपनि सबै परीक्षा केन्द्रमा परीक्षा समयमा नै सुरु भै समयमा नै सौहार्द पूर्वक सम्पन्न भएको पनि शिक्षा ईकाई प्रमुख रेग्मीले जानकारी दिनुभयो । परीक्षा शोमबार सकिदैछ ।