नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

नेविसंघ ओखलढुङ्गाको अधिबेशनमा विवाद, उद्घाटन अझै सुरुवात हुन सकेन

ओखलढुङ्गान्युज, माघ ७ ओखलढुङ्गा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ ओखलढुङ्गाको जिल्ला अधिबेशन विवादमा परेको छ । नेपाली कांग्रेसका जिल्ला नेताहरु र भातृ संगठन नेविसंघका नेताहरु संस्थापन पक्ष र देउवा पक्षमा विभाजित हुदा अधिबेशनमा विवाद भएको हो । विवाद हुदा नेविसंघ ओखलढुङ्गाको १२ जिल्ला अधिबेशन शोमवार दिउसो ११ बजेवाट सुरुहुने भनिएपनि यो समाचार तयार पार्दा सम्म अधिबेशनको उद्घाटनसत्र सुरुवात हुन सकेको छैन ।

विद्यार्थीको अधिबेशनमा पार्टीका जिल्ला नेताहरुले हस्तक्षेप गरेका कारण विवाद सुरुवात भएको सहभागी विद्यार्थी नेताहरुले बताएका छन् । लामो समय वितिसक्दा समेत अधिबेशनको उद्घाटन सत्र सुरुवातहुन नसकेको भन्दै विद्यार्थी नेता सुजन पौडेलले पार्टीका नेताहरुले समस्याको तत्काल समाधान नगरेमा आफुहरुले अधिबेशन नै वहिष्कार गर्ने चेतावनी दिएका छन् ।

नेविसंघ ओखलढुङ्गाको अधिबेशनमा जिल्लामा नै रहेका विद्यार्थीहरु भन्दा जिल्ला बाहिर रहेका विद्यार्थी नेताहरुले नेतृत्वमा दावी गरेका कारण पनि समस्या भएको सहभागीहरुले बताए । नेविसंघका केन्द्रिय नेता दिपेश श्रेष्ठले अधिबेशन सुरुहुनपूर्व नै जिल्लामा अधिबेशनका लागि आएका विद्यार्थीहरु कुन् कुन् स्थानवाट आएका र प्रतिनिधीहरु को को हुन जानकारी हुनुपर्ने बताए ।

जिल्लामा दुःख गरेर संगठन विस्तार गर्ने चाही एउटा तर जिल्लाका नेताहरुले चाही अर्कालाई नेता बनाउन खोज्दा समस्या भएको विद्यार्थी नेता प्रदिप वानियाले बताउनुभयो । जिल्ला अधिबेशनका लागि जिल्लामा आएका प्रतिनिधीहरुको टुङ्गो लाग्नासाथ अधिबेशन सुरुवात हुने पनि उहाँले बताउनुभयो । अधिबेशनको सुरुवातका लागि विद्यार्थी नेताहरुलाई मिलाउनेक्रम जारी छ ।