नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा स्थानीय उत्पादनमा कमी, भित्रन्छन् तराईका तरकारी

ओखलढुङ्गान्युज, मंशिर १६ ओखलढुङ्गा । सरकारले जति लगानी गरेपनि पछिल्लो समयमा ओखलढुङ्गाका स्थानीय क्षेत्रहरुमा तरकारी उत्पादन कम हुन थालेको छ । स्थानीय उत्पादन कम हुदा ओखलढुङ्गाका होटल तथा बजार क्षेत्रका बासीन्दाको तरकारी तराई र काठमाण्डौको बजारले धान्ने गरेको छ । जिल्लामा उत्पादीत तरकारीले वजार क्षेत्रलाई नपुगेपछि काठमाण्डौ र तराईको तरकारीमा आश्रीत हुनु परेको हो ।

ओखलढुङ्गा सदरमुकाम मात्रै नभएर माथिल्लो सगरमाथाका ३ जिल्ला सोलुखुम्वु, ओखलढुङ्गा र खोटाङ्गमा नै तराई र काठमाण्डौको तरकारीमा आश्रीत हुनु पर्ने बाध्यता रहेको छ । स्थानीय तहमा तरकारीको उत्पादनमा कमी हुनुको कारण पछिल्लो समयमा भैरहेको जलवायु परिवर्तन अन्तर्गत मौसमी परिवर्तन पनि हो । जसका कारण स्थानीय खोलानाला, तथा कुवाको पानी सुक्न थालेका छन् । समयमा नै पानी पर्दैन । सिंचाईको समस्या छ भने अर्को हो गाउँवाट युवाको पलायन ।

 जिल्लामा संचालीत होटलहरुमा जिल्ला बाहीरको तरकारी पाक्ने गरेको होटल ब्यवसायीहरु बताउँछन् । स्थानीय स्तरमा उत्पादीत तरकारी स्थानीय हाटबजारमा नै खपत हुने भएपछि काठमाण्डौ र तराईबाट तरकारी ल्याउनु पर्ने बध्यता रहेको होटल ब्यावसायी संघ ओखलढुङ्गाका अध्यक्ष थगेन्द्रराज राईले बताउनु भयो । अध्यक्ष राई भन्नुहुन्छ, ‘पछिल्ला दिनहरुमा होटल त परैको कुरा भयो, स्थानीय उत्पादन भएको तरकारीले बजारलाई धान्दैन । उनीहरुले समेत जिल्ला बाहिरवाट आएका तरकारी खरिद गर्छन् ।’

ओखलढुङ्गा सदरमुकाम आसपासका क्षेत्रमा लगाईने गरेको तरकारी सदरमुकाम सम्म आउने गरेको छ । तर स्थानीयले लगाएको तरकारीले मात्रै जिल्ला सदरमुकाममा अपुग हुने भएको कारण तराई र काठमाण्डौबाट तरकारी ल्याउनु पर्ने बाध्यता रहेको जिल्ला सदरमुकाममा तरकारी ब्यवसाय गर्दे आएका ब्यवसायीहरुको भनाई छ ।

मंसिर महिना देखी फागुन महिना सम्म जसोतसो स्थानीय तरकारीले केही प्रतिशत धान्ने गरेको छ । तर बाकी महिनाहरुमा बाह्य तरकारीमा भर पर्नुपर्ने ओखलढुङ्गाका नागरिकहरुको बाध्यता छ ।  कृषकहरुले सदरमुकाम भन्दा टाढाका क्षेत्रमा उत्पादन गरीएको तरकारी जिल्ला सदरमुकाम सम्म आई नपुगी कुहिने गरेको भएपनि सदरमुकाममा भने काठमाण्डौ र तराईबाट तरकारी ल्याईने गरेको छ ।

आफुले किसानहरुबाट नै ठेक्का गरेर स्थानीय तरकारी बनाउने गरे पनि जिल्ला सदरमुकाममा राम्रा र चलेका केही होटलहरुमा समेत तराई र काठमाण्डौबाट ल्याइृएको तरकारी पाक्ने गरेको ग्रीनहिल होटलका संचालक संजिव कार्कीले बताउनु भयो  । स्थानीय किसानले लगाएको तरकारी भन्दा तराई र काठमाण्डौ बाट तरकारी ढुवानी गर्न सजिलो र सस्तो हुने भएका कारण ब्यवसायिले तरकारी किसानबाट नलिने गरेको कार्कीको भनाई छ ।

जिल्लाको माथिल्लो भेगमा प्रशस्त मात्रामा आलु उत्पादन हुने भए पनि अधिकाँश स्थानका आलु सिधै काठमाण्डौ र तराईका बजारहरुमा निर्यात हुन्छ । यहाँ उत्पादन भएको आलुमा कुनैपनि विषादी तथा औषधीहरु प्रयोग नभएका कारण महंगोमा भएपनि तराई तथा शहरमा निर्यात हुने गरेको छ । जिल्लामा उत्पादन भएको आलु यही विक्रि गर्नु भन्दा तराईवाट आएको आलु धेरै सस्तोमा विक्रि गर्नुका साथै नाफा पनि हुने व्यापारीहरु बताउछन् । नाफा घाटा भन्दा पनि बजारलाई तरकारी आलुको माग अनुसार यहीको उत्पादन आपुर्तीमा कमी भएको कारण ओखलढुङ्गामा आलु समेत तराई बाट भित्राउनु पर्ने बाध्यता रहेको छ ।

जिल्ला भित्रका बिभिन्न स्थानहरुमा किसानहरुले पर्याप्त मात्रामा तरकारी उत्पादन गरे पनि ग्रामिण सडकहरुको स्तरउन्नती नगरिदा र सवारी साधन अभावका कारण कृषि उपज कुहीने र पशु चौपायालाई दिनु पर्ने बाध्यता रहेको छ । बिभिन्न स्थानमा चिस्यान केन्द्र स्थापना र सडक बिस्तार तथा स्तर उन्नती भए देखी आफुहरुले तरकारी उत्पादन बढाउन सक्ने र आफ्नो कृषि उपज खेर नजाने कृषकहरु बताउँछन ।