नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

गफले मात्रै भएन, कार्यान्वयन पनि गरौं – नगर प्रमुख श्रेष्ठ

ओखलढुङ्गान्युज, मंशिर १५ ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले कुरालाई गफमा मात्रै हैन व्यबहारमा पनि कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । ३१ औं विश्व एड्स दिवस र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियन अन्तर्गत सातौदिनको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले यस्तो बताउनुभएको हो ।

हरेक दिवस तथा कार्यक्रमहरु औपचारिकतामा मात्रै सिमित हुने गरेको भन्दै नगर प्रमुख श्रेष्ठले पछिल्ला दिनहरुमा हाम्रा कुराहरु गफमा मात्रै सिमित हुने गरेकोले कार्यान्वयन तर्फ जोड दिनुभयो । ‘लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चलि रहेको छ । हिंसाका घटना बढे भन्ने मात्रै सुनिन आउछ । एड्सको रोकथामका लागि के के गर्नुपर्छ भनेर कार्यक्रम हुन्छ, जिल्लामा पनि एड्सका संक्रमितहरुको संख्या बढि रहेको छ भन्ने तथ्यांक आउछ ।’ नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘अब हाम्रो बानी र ब्यबहार आफैवाट सुरुवात गर्छु भन्ने गफ मात्रै हैन कार्यान्वयन गर्ने तर्फ पनि लाग्नुप¥यो ।’

एचआईभि जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं भन्ने मूल नाराका साथ ओखलढुङ्गामा पनि ३१ औं विश्व एड्स दिवस कार्यक्रम मनाईएको हो । हिमालयन पारामेडिकलमा अध्ययनरत विद्यार्थीहरुले एड्स दिवसको अबसरमा सामुदायीक अस्पताल सोब्रुदेखी ‘यौन साथी एकमात्र भएको जाती, एच आई भि जाँच गरौ आफ्नो अबस्था थाहा पाऔं, एच आई भि संक्रमितलाई राम्रो व्यबहार गरौ’ लगायत नारा लेखिएको प्ले कार्ड बोक्दै नारा जुलुस सहित बजार परिक्रमा गरेको थियो ।

बजार परिक्रमा पश्चात सदरमुकामको हटियाबजार नजिक कोण सभामा परिणत भएको थियो । लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सातौ दिनको नारा लेखिएको ब्यानर सहित नगरपालिकाको महिला तथा बालबालिका कार्यालयले पनि सहभागिता जनाएका थिए । कार्यक्रममा बक्ताहरुले लैङ्गिक हिंसा कम गर्न र एच आई भि एड्स हुनवाट जोगिन सबैले आ–आफ्नो जिम्मेवारीलाई बहन गर्नुपर्नेमा जोड दिएका थिए ।

केही वर्ष अगाडी ओखलढुङ्गामा ७ जना एच आई भि संक्रमित फेला परेका थिए भने हाल १३ जनाले जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारवाट भाईरसको आक्रमणलाई कम गराई रोग प्रतिरोधात्मक शक्ति बढाउने औषधीको प्रयोग गरिरहेका छन् । एच आई भि संक्रमित कोही महिलामा गर्भ रहेको थाहा हुनासाथ यो औषधीको नियमित प्रयोग गरेमा बच्चामा भने एचआईभि संक्रमित नहुने पनि जिल्ला स्वास्थ्य कार्यालयका एन्टी रेक्ट्रो भाईरल थेरापी (एआरटी) काउन्सीलर कुमार प्रसाद दाहालले जानकारी दिनुभयो ।