नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा विद्यालय अघोषित वन्द

ओखलढुङ्गान्युज, असोज ११ ओखलढुङ्गा । ओखलढुङ्गाका विद्यालयहरु अघोषित रुपमा वन्द भएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका अधिकांश विद्यालय बन्द भएका हुन् ।असोज ११ अर्थात विहिवारवाट हुने शिक्षक सेवा परीक्षा दिनका लागि अधिकांस शिक्षकहरु हिडेपछि विद्यालय वन्द भएको हो । असोज ११, १२ र १३ मा शिक्षक सेवा आयोगको परीक्षा हुदैछ । 

शिक्षकहरु परीक्षा दिन गएपछि विद्यालयहरुले कतै स्थानीय विदा दिदै बन्द गरिएको छ भने खुला रहेका विद्यालयमा ३ जना शिक्षकले १० कक्षा सम्म हेरीरहेका छन् । विद्यालय सञ्चालनको नाममा विद्यार्थीहरुलाई हाजिरी गराएर छाडिने गरेको छ । बन्द भएका विद्यालयले तिनदिन देखि पाँचदिन सम्म विदा गरेका छन् । 

जिल्लाको मोलुङ गाउँपालिका वडा नं. १ मा रहेको सरस्वती माद्यमिक विद्यालयले आईतवार देखी विहिबार सम्म विद्यार्थीलाई स्थानीय विदा दिदै विद्यालय वन्द गराएको छ विद्यालय शुक्रवार खोलिने भएपनि आधा दिन मात्रै पढाई हुने र लामो समयसम्मको विदा पनि नदेखिने भए पश्चात विद्यालय शुक्रवार खोलिने गरि वन्द गरिएको एक शिक्षकले बताए । 

त्यस्तै लिखु गाउँपालिका वडा नं. ४ को यसम माद्यमिक विद्यालय यसमले शोमबार देखी शुक्रबार सम्म नै विदा गरेको छ । कतिपय विद्यालयका शिक्षक आफ्नो पाउने बिदा कटाएर हिँडेको र केही शिक्षक परीक्षार्थी भएकै कारण बन्द गराएको यसम माविका प्रधानाध्यापक घनबहादुर काफ्लेले बताए। काफ्लेका अनुसार यसम माविका १४ जनामध्ये १२ जना शिक्षक परीक्षार्थी छन्, दुई जनाले मात्रै माद्यमिक विद्यालय धान्न नसकिने भएपछि स्थानीय विदा नै गरिएको हो ।

लामो समयसम्म अस्थायी तथा राहत शिक्षक दरबन्दीमा काम गरिरहेका शिक्षकहरुका लागि यो अवसर पनि हो । यो अवसरवाट आफ्नो भविष्य पनि बन्न सक्ने भएकाले स्थानीय बिदा गर्न पाउने अधिकार प्रयोग गरी विद्यालय बन्द गरेको हुन सक्ने जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुङ्गाका प्रमुख खगेन्द्र श्रेष्ठले बताउनुभयो । 

यस्तै खिजिदेम्वा गाउँपालिकाको फूलमती माविका नौ जना शिक्षक परीक्षा दिन गएपछि विद्यार्थीहरुलाई असोज ९ देखि ११ सम्म विद्यालय नआउनु भनिएको माविका शिक्षक राकेश सुनुवारले बताए । त्यस्तै प्राय सबै शिक्षकहरु अस्थायी र राहत दरबन्दिमा रहेको र उनीहरु सबै परीक्षा दिन जाने भएपश्चात विद्यालय शुक्रबार सम्म नै विदा गरिएको चौतारा माद्यमिक विद्यालय डाडाँखर्कका एक शिक्षकले बताए । 

त्यस्तै सदरमुकाम सिद्धिचरण नगरपालिका कै सगरमाथा जनता माविले पनि बुधवारदेखी शुक्रबार सम्म विद्यालय बन्द गराएको छ । विद्यालयमा २२/२३ जना शिक्षक भएपनि माथिल्लो कक्षामा पढाउने ९ जना शिक्षकहरु नै शिक्षक सेवा आयोगको परीक्षा दिन जाने भएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले स्थानीय विदावाट कट्टा हुने गरि विद्यालय बन्द गराएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष किशोर सुनुवारले वताउनुभयो ।  

जिल्ला भर विद्यालय बन्दको समाचार आईरहदा लिुख गाउँपालिका कै भिमसेन स्थान माद्यमिक विद्यालय भने सञ्चालन भै रहेको छ । उक्त विद्यालयका पनि पाँचजना शिक्षकहरु परीक्षा दिन गएका छन् । दरबन्दि, निजी, कर्मचारी र बालशिक्षा सहयोगी कार्यकर्ता सहित १२ जना स्टाफ रहेको उक्त विद्यालयमा पढाईलाई बाधा भैकन पनि विद्यालय सञ्चालन भै रहेको छ । 

विद्यालयमा टाढाका शिक्षकहरु रहेको, दसै तथा तिहारको बिचमा विदा गर्नै पर्ने भएपछि कटाउने स्थानीय विदा नहुदा थोरै शिक्षकहरुले पनि विद्यालय सञ्चालन गरिरहेको एक शिक्षकले बताए । बुधवार, विहिवार र शुक्रवार मात्रै केही समस्या भएपनि विद्यार्थी कन्ट्रोल गर्न सकिन्छ । परीक्षा दिने शिक्षकहरुलाई र पढ्न चाहने विद्यार्थीहरुलाई पनि अबरोध नहोस भनेरै विद्यालय सञ्चालन गरिएको भिमसेन स्थान माविका प्रधानाध्यापक श्रीराम श्रेष्ठले बताए ।