नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

धानखेत मासेर केराखेती

ओखलढुङ्गान्युज, भदौ २२ ओखलढुङ्गा । पछिल्लो समयमा ओखलढुङ्गाका कृषकहरुले आफ्नो खेतमा धान रोपाई गर्नुको साटो केरा लगाउन थालेका छन् । समयमा नै पानी नपर्दा र पछि खेतमा लगाएको धानको लगानी समेत उठ्न छाडेपछि धानखेतमा केराखेती गर्न थालेका हुन् । त्यसैको एक उदाहरण हुन रेशम विष्ट ।

जिल्लाको लिखु गाउँपालिका वडा नं. ८ टारकेराबारी घर भएका रेशम बिष्टले परम्परागत खेतीबाट लगानी पनि उठ्न छाडेपछि केराखेती गरेका छन् । धानखेती गर्दै आएको केही जग्गामा र केही बाँझो जग्गाको सदुपयोग गरी लिखु फाँटस्थित साठीबेसी भन्ने खेतमा विष्टले केराखेती गरेका हुन् । उनले यो वर्ष २० रोपनी बढी जग्गामा केराका बिरुवा रोपेका छन् । केरा खेती सुरुगरेको वर्ष नै उनले दुई हजार ५ सय वटा बिरुवा लगाएको बताए ।

परम्परागत रुपमा धानखेती गरिँदै आएको भएपनि समयमा नै पानी नपर्ने, सिजनमा खेताला नपाउने, खेतालाको ज्याला महंगो र लगानी अनुसारको उत्पादन हुुनुको साटो उत्पादन घट्दै जाने समस्या भएपछि सोही खेतमा केरा लगाउन थालेको विष्टको भनाइ छ । काम गर्ने मजदुर पनि नपाउने र उत्पादन पनि कम हुन थालेपछि बिष्ट मात्रै होइन लिखु गाउँपालिकामा मात्रै एकदर्जन भन्दा भन्दा बढि युवा व्यावसायिक खेतीमा लागेका छन् ।

ओखलढुङ्गामा विशेषगरी वैदेशिक रोजगारीबाट फर्केका युवा व्यावसायिक खेतीमा लागेका छन् । केही वर्ष अगाडी देखी चम्पादेवी गाउँपालिका वडा नं. ७ साविकको फुलवारी गाविसको राम्रो धान फल्नेफाँट शेराबेसीमा करीब पाँच वर्षदेखि पुर्णबहादुर कार्कीले पनि केरा खेती लगाएका छन् । अन्य खेतीपाती भन्दा ब्यबसायीक केरा खेतीवाट तिन चार गुणाल राम्रो आम्दानी भएको कार्की बताउँछन् ।