नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

एकदिवसीय क्रिकेटमा नेपालको रोमाञ्चक र ऐतिहासिक जित

ओखलढुङ्गान्युज, साउन १९ काठमाडौं  । नेपाले आफ्नो पहिलो ऐतिहासिक एकदिवसीय कृकेट खेलमा ऐतिहासिक जित दर्ता गरेको छ । नेपालले नेदरल्याण्डसग भएको आफ्नो ऐतिहासिक पहिलो एक दिवसीय कृकेटमा १ रनको सनसनीपूर्ण जित निकालेको छ । यो जितसगै एकदिवसीय कृकेट श्रृंखला बराबरी गर्न सफल पनि भएको छ ।

नेपाल आफ्नो एकदिवसीय कृकेटको पहिलो खेलमा ५५ रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा भने एक रनको रोमाञ्चक जित हात पार्न सफल भयो । अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा नेपालको यो पहिलो जित हो । २१६ रनको योगफल रक्षा गर्ने क्रममा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएपछि नेदरल्याण्डलाई २१५ रनमा रोक्दै नेपालले जित दर्ता गरेको हो ।

नेपाल र नेदरल्याण्ड बीचको लाईभ खेल हेरीरहेका नेपाली कृकेटका फ्यानहरुको मुटुको चाल तिब्र गतिमा बढ्दै गर्दा मात्र अन्तिम वललाई नियन्त्रण गर्दै जित निकालेपछि नेपाली फ्यानहरुको खुशीको सिमा रहेन । अन्तिम दुई ओभरमा दिपेन्द्र सिंह ऐरी र पारस खड्काले उत्कृष्ट बलिङ गरेपछि रोमाञ्चक खेलमा नेपाल विजयी भएको थियो । अन्तिम १२ बलमा नेदरल्याण्डलाई जितका लागि नौ रनको आवश्यकता थियो । तर ४९औं ओभर बलिङ गरेको दिपेन्द्रले तीन रन दिए ।

अन्तिम बलमा नेदरल्याण्डलाई दुई रनको आवश्यकता थियो । तर अन्तिम बलमा पारसले फ्रेड क्लासेनलाई आउट गरेपछि नेपालले पहिलो जित हात पारेको हो । ब्याटिङतर्फ सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको बलियो योगफल तयार पारेको थियो ।