नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

हराउन थाल्यो परालको गुन्द्री

विवेश श्रेष्ठ, माघ २७ ओखलढुङ्गा ।
गाउँघरमा पाईने परालको गुन्द्री पछिल्लो समयमा क्रमशः लोप हुन लागेको छ । पछिल्लो समयमा गाउँघरमा नाईलनका तथा प्लाष्टिकको गुन्द्रीहरुको प्रयोग क्रमशः बढ्दै गएपछि गाउँघरबाट परालको गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो । गुन्द्री बुन्ने र गुन्द्रीको प्रयोग दिनप्रतिदिन हराउँदै गएकोमा पाका मान्छेहरु चिन्ता व्यक्त गर्छन् ।

लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वरका जानुका श्रेष्ठ यत्तिबेला गुन्द्री बुन्न व्यस्त हुनुहुन्छ । पारिलो घाममा, घर भन्दा पछाडीको बारीमा लगाएको तानमा गुन्द्री बुन्न उहाँलाई भ्याईनभ्याई छ । ‘घाम उदाएदेखि नै तानमा बस्छु, गुन्द्री बुन्छु,’ उहाँले भन्नुभयो, ‘अरु काममा नभूली काम गर्ने हो भने त एकदिनमा एउटा गुन्द्री सजिलै बुनिन्छ ।’

घरमा कान्छा छोराको बिहे र जेठा छोराका छोरीहरुको गुन्युचोली दिने कार्जे छ । पाहुनाहरु आउछन् । प्लाष्टिकको गुन्द्री धेरै चिसो हुन्छ । परालको गुन्द्री तातो पनि हुने भएकोले भ्याईनभ्याई गुन्द्री बुनेको उहाँ बताउनुहुन्छ । पहिले बाबियाको डोरीको तान लगाएर गुन्द्री बुनिन्थ्यो । तर अहिले सुतारीको डोरीमा । सुतारीको डोरीमा बुनेको गुन्द्रीभन्दा बाबियोले बुनेको गुन्द्री राम्रो र टिकाउ हुन्छ । नयाँ पुस्ताले तानमा गुन्द्री, चकटी बुन्ने सीप सिक्नमा चासो नदिएको उहाँ बताउनुहुन्छ ।

स्थानीय नेत्र कुमारी श्रेष्ठका अनुसार केही वर्षअगाडि बाबियो काटेर, रातभर बाबियो बाटेर भोलिपल्ट तान लगाएर गुन्द्री बुनिन्थ्यो । तर अहिले गाउँघरबाट बाबियो मासिँदै छ । प्रयोग घट्दै छ । ‘पहिले बाबियो बाटेर गुन्द्री बुन्ने चलन थियो,’ श्रेष्ठले थप्नुभयो, ‘अहिले त बाबियो पनि मासिदैँ गयो, सुतारीको डोरीमा गुन्द्री बुनिन्छ ।’

गुन्द्री बुन्ने तरिकाबारे जानुकाले जानकारी गराउनुभयो, ‘पहिले समथर ठाउँमा तलमाथि चारवटा किला गाडिन्छ । तलमाथिका किलामा नै दुईवटा काठ तेस्र्याईन्छ । हतासोभित्र डोरी छिराइन्छ । डोरी काठमा बाँधिन्छ र परालको घान हाली दायाँबायाँ हातैले बिट मारिन्छ । अनि हतासोले ठोकिन्छ, यसरी नै गुन्द्री बुनिन्छ । बिट चाही आ–आफ्नो शिप अनुसार बनाईन्छ ।’

गुन्द्री बुन्न दिनभरि नै टुक्रुक्क परेर बस्नुपर्ने भएकोले केही सकस हुने उहाँले बताउनुभयो । पछिल्लो समयमा गाउँघरमा स्थानीय धानको विउ छाडेर धेरै धान फल्ने जातका धान लगाउन थालिइको छ । धेरै धान फल्ने जातका धानको पराल छोटो हुने भएकोले छोटो पराल भएका कारणले पनि गुन्द्री बुन्ने परम्परा क्रमशः लोप हुन लागेको पनि जानुकाले बताउनुभयो । आमाबाट नै ११/१२ वर्षकै उमेरमा गुन्द्री, चकटी बुन्न सिकेको उहाँले बताउनुभयो ।

अहिले गुन्द्रीरथर्कटीको सट्टामा बजारमा पाइने प्लाष्टिकका सामग्रीको प्रयोग बढ्दै गएको छ । ‘पहिले घरमा कोही पाहुना आउँदा नयाँ गुन्द्री झिकेर बस्न आग्रह गर्दा छुट्टै इज्जत हुन्थ्यो, हिन्दु धर्मअनुसार कुनै पनि धार्मिक कार्यमा अझै पनि नयाँ गुन्द्री चाहिन्छ, चोखो मानिन्छ,’ स्थानीय धरम बहादुर श्रेष्ठले भन्नुभयो, ‘ म अहिले ८४ वर्षको भए । मेरै आखाले अहिले परालको गुन्द्रीको साटोमा प्लाष्टिकको गुन्द्री प्रयोग बढ्न थाल्यो । अहिले कोही आउँदा बस्नलाई कुर्सी, बेञ्च टक्र्याइन्छ, गुन्द्रीको प्रचलन त हराउँदै गइहाल्यो नि ।’

नेपाली समुदायमा बिहे गरेको, घरमा कोही बितेको एकवर्ष नपुगञ्जेलसम्म गुन्द्री बुन्न नहुने विश्वास परम्परा छ । आधुनिकताको नाउँमा गाउँघरबाटै गुन्द्री, थर्कटी र चकटी बुन्ने, प्रयोग गर्ने चलन हराउँदै गएको छ । तर परालको गुन्द्री तथा चकटी हाम्रो संस्कृतिसँग जोडिएको चलन पनि भएकोले यसलाई भुल्न नहुने जानकारहरु बताउँछन् ।