नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

मुलुक भरि आज माघे सङ्क्रान्ति पर्व मनाईदै

विवेश श्रेष्ठ, माघ १ ओखलढुङ्गा ।
आज माघ १ अर्थात माघे सङ्क्रान्ति पर्व । आज मुलुकभरि विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गर्नाका साथै घिउ–चाकु, तिलको लड्डु र तरुल खाई मनाइँदैछ । आज कै दिन खोटाङ र ओखलढुङ्गाको सिमाना रबुवा बजारमा पनि विशेष मेला लाग्ने गर्दछ ।

विविध जात जाति, धर्म, परम्परा र संस्कृतिले भरिपूर्ण हाम्रो देशमा हरेक सम्प्रदायका चाडपर्वलाई उत्तिकै महत्वकासाथ मनाइन्छ । आफ्नो रीतिरिवाज र परम्परालाई परम्परागतरूपमा अगाडि बढाउँदै लैजानु हामी सबै नेपालीको अर्को सफल सांस्कृतिक पक्ष हो । यस्तै पर्वमध्ये माघ महिनाको पहिलो दिन मनाइने पर्व हो माघी पर्व अथवा माघे सङ्क्रान्ति ।

ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई ‘मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ । आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

यो दिन हिन्दु समाजमा घर–आगन लिपपोत गरी शुद्ध पार्ने र देवी देवताका मठमन्दिरमा गएर पूजाआजा गर्ने विशेष प्रचलन रहेको छ । पौराणिक कालदेखि नै माघे सङ्क्रान्ति पर्वलाई विशेष महत्वकासाथ मनाउने गरिएको छ । खासगरेर सूर्य नारायणको आराधना र पूजाअर्चना गरेर यो माघे सङ्क्रान्ति पर्व मनाइन्छ ।

लड्डु तथा घिउ–चाकु सङ्क्रान्ति पनि भनिने यस पर्वलाई नेवारी भाषामा ‘घ्यो–चाकु सँल्हुु भनिन्छ । यस पर्वमा प्रसिद्ध देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, भारतका प्रयाग र गङ्गासागरलगायतका नदी तथा त्रिवेणीमा मकरस्नान, दान, श्राद्धलगायतका कार्य गर्नेहरूको ठूलो भिड लाग्छ ।

यस दिन तिलका समेदा बालेर आगो तापी निधारमा तिलक लगाउनाले जानेर अथवा नजानेर वर्षभर गरेका पाप सबै नाश भएर जान्छन् भन्ने अर्को धार्मिक मान्यता पनि छ । धान्यपूर्णिमा लगत्तै आउने माघी पर्व जसलाई न्वागी पर्व पनि भनिन्छ, यस पर्वमा सिमल तरुल, वन तरुल, घर तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमुल उसिनेर खाने चलन छ ।

तिलको लड्डु, सेल रोटी बनाउनुका साथै चामल र मासको दाललाई एकै ठाउँमा मिसाएर घिउलगायत गरम मसला हालेर पकाएको खिचडी खाइन्छ । यसरी खानाले शरीरमा लागेको ठण्डी तथा सर्र्दी भाग्छ भन्ने जनविश्वास छ ।

भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यो दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोसिलो हुनाका साथै निरोगी होइने उल्लेख छ ।

आयुर्वेद र आधुनिक चिकित्साशास्त्रमा पनि यो दिन खाइने परम्परागत खाद्य पदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट र क्याल्सियमलगायतका तत्व प्राप्त हुने र तिनले सम्भावित रोगसँग लड्ने क्षमता प्रदान गर्ने उल्लेख गरिएको छ ।

शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढी तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

यसै दिन भक्तपुरको टौमढीटोलमा तिलमाधवनारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा गर्ने गरिन्छ। थारु समुदायमा यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ । आजका दिन यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ ।