नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

साउदी अरबले मिसाइल खसाल्यो

ओखलढुङ्गान्युज डटकम, कात्तिक १९, रियाद ।

आज विहान यमनबाट प्रहार गरिएको एक मिसाइललाई बीचैमा साउदी अरबले खसालेको दाबी गरेको छ । बीबीसीका अनुसार साउदी वायु सेनाले मिसाइललाई राजधानीको उत्तरपूर्वमा खसालेको हो ।

सरकारी समाचार च्यानल अल अखबरियालाई उद्धृत गर्दै मिसाइल सानो आकारको रहेको र यसबाट कुनै क्षति नभएको बीबीसीले लेखेको छ। यमनमा रहेको हुती विद्रोहीहरुसँग सम्वन्धित एक टेलिभजन च्यानलले उक्त मिसाइललाई किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल नजिकको आकाशमा प्रहार गरिएको जनाएको छ ।

साउदीको राष्ट्रिय सुरक्षा बलले यसअघि पनि हुती विद्रोहीहरुको मिसाइललाई आकाशमा प्रहार गरेर खसालेको दावी गर्दै आएका थिए । तर यसअघि कुनै पनि मिसाइल बाक्लो बस्ती नजिकको क्षेत्रमा नपुग्दै साउदीको सुरक्षा बलले खसालेको जनाएको छ ।

केही समयदेखी यमनका राष्ट्रपति अब्दराब्बुह मन्सुर हादीको सरकार र हुती विद्रोहीबीच युद्ध हुँदै आएको छ । उता साउदी अरबले हुतीलाई हराउने अभियानको अगुवाई गर्दै आएको छ । उसले सन् २०१५ देखि नै हुती विद्रोही संगठनमाथि हवाई कारबाही गर्दै आएको अन्तर्राष्ट्रिय संगठनमा सामेल भएको छ ।

साउदी अरबको नेतृत्वमा कारबाही शुरु भएपछि हालसम्म ८ हजार ६ सय भन्दा बढीको  ज्यान गइसकेको छ भने ५० हजार भन्दा बढी घाइते भएका छन् । यो संघर्षबाट २ करोड भन्दा बढी जनता प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको वार्ताबाट पनि यमनमा जारी संघर्ष रोक्ने प्रयास सफल हुन सकेको छैन ।