नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

हत्याका आरोपमा मुलखर्कका तीन युवा पक्राउ

विवेश श्रेष्ठ, भदौ २६ ओखलढुंगा
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले हत्या आरोपी तीन जनालाई पुन पक्राउ गरी आईतवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा सुनकोशी गाउँपालिका वडा नं. ५ मूलखर्कका वर्ष १९ का धीरेन तामाङ, वर्ष २१ का सुवास भनिने रुपलाल तामाङ र बर्ष १८ का दिपक तामाङ रहेका छन् ।

उनीहरु तीनैजना ओखलढुंगाको रहस्यमय बान्द्रे भीर घटनाका अभियुक्तका आरोपीहरु हुन् । गत वैशाख २५ गते जिल्लाको सुनकोशी गाउँपालिका ५ मुलखर्क र सिस्नेरी बिचमा पर्ने बान्द्रे भीरमा भएको रहस्यमय घटनाका अभियुक्त भएको आरोपमा उनीहरुलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

उनिहरुलाई गत बैशाख २५ गते बान्द्रे भीरमा मृत अवस्थामा फेला परेका उदयपुर कटारी नगरपालिकाका ६२ बर्षिय रामबहादुर बुढाथोकीको हत्या गरेको आरोप लागेको छ । मृतक बुढाथोकीको भिडबाट लडेर मृत्यु भएको भनिएपनि आफन्तले भने लडेको नभई मारेर फालेको भन्दै किटानी जाहेरी दिएका थिए । आरोपी तिनैजनालाई यसअघि पनि प्रहरीले पक्राउ गरी समान्य तारेखमा रिहाई गरेको थियो । जिल्ला अदालतको अन्तिम फैसला नआउदै पीडितहरुले पुनः उच्च अदालतमा पुनरावेदन दर्ता गराएका हुन् ।

दर्ता गरेको पुनरावेदन अनुसार उच्च अदालत बिराटनगर, अस्थाई ईजलास ओखलढुंगाले अभियुक्तका आरोपीहरुलाई गत भदौ ८ गते पुर्पक्षका लागि पुनः पक्राउ गर्न आदेश दिएको थियो । जस अनुसार ओखलढुंगा प्रहरीले ति अभियुक्तका आरोपीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरिक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुलाई आईतबार नै उच्च अदालतमा म्याद थपका लागि बुझाईएको तिमिल्सिनाको भनाई छ । मृतक बुढाथोकी आफन्तको बिहेमा जन्ति जान सिस्नेरीतर्फ आउदै गर्दा घटना भएको हो ।

अभियुक्तका आरोपीहरुले भने एक स्थानिय महिलालाई मृतक बुढाथोकीले जर्बजस्ती हातपात गर्न खोजेको आफुहरुले देखेपछि उनि भाग्ने क्रममा आफै लडेर मृत्यु भएको बयान दिदै आएका छन् ।