नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

फलामे हलोका कारण काठेहलो विस्थापित हुँदै

ओखलढुंगान्युज डटकम
साउन २६, ओखलढुंगा ।
शताब्दीऔ देखी गाउँघरमा प्रयोग गरिँदै आएको काठे हलो विस्थापित हुन थालेको छ । गाँउघरमा खेतीपातीका लागि फलामको हलो तथा आधुनीक जमानाको हाते ट्याक्टरको प्रयोग हुन थालेपछि काठे हलो विस्थापीत हुन थालेको हो ।


काठको हलो बनाउन झन्झन्टिलो र महँगो पर्ने भएकाले गाउँका किसानहरु फलामे हलोतर्फ आकर्षित भएका हुन् । विज्ञान र प्रबिधिको विकास सगै आधुनिक कृषि औजारका सामग्रीमा क्रमशः किसानको पहुँच पुग्न थालेको छ । विकासको क्रमसगै काठबाट बन्ने हलो बनाउन लाग्ने झण्झट र दक्ष कर्मी नपाएर हैरान भैरहेको अबस्थामा काठको हलो विस्थापित हुन थालेको लिखु गाउँपालिका ६, गाम्नाङटारका किसान कृष्ण भट्टराईले बताए ।

गाम्नाङ्गटारमा बिगत ४ वर्ष देखी आँफु लगायत अधिकांस किसानले काठेहलोको सट्टामा फलामे हलो प्रयोग गर्न थालेको उनको भनाई छ । काठका हलो बनाउन काठ र कर्मी खोज्दा नपाएर दिक्क लाग्थ्यो । जब बाली लगाउने बेला हुन्थ्यो, छिमेकीले कहिले पालो देलान भनेर कुरीरहनु पथ्र्यो । अब फलामको हलो आएपछि त्यो समस्यावाट मुक्ति मिलेको बताउछन् लिखु गाउपालिका वडा नं. ३ नर्मदेश्वरका कृष्ण बहादुर भुजेल ।


ग्रामिण भेग सगै सहरी क्षेत्रमा पनि अहिले हाते ट्याक्टर तथा फलामे हलोको उच्च प्रयोग हुन थालेको छ । फलामे हलो भित्रिएसँगै काठको हलो बनाउने मान्छे नपाउने, हलो बनाउनका लागि उपयुक्त काठ नपाउने, जोत्दा ढुंगामा अड्किएर भाँचिने, वर्षेनी छ÷सात वटासम्म हलो फेर्नुपर्ने लगायतका समस्याबाट किसानले मुक्ति पाएका छन् ।

फलामे हलोको बजारको मूल्य करिब एक हजार ५ सय रहेको छ । यो एउटै हलोले कम्तीमा ३ वर्ष काम गर्ने भएका कारण गाउँघरबाट काठे हलो लोप हुन थालेको छ । जिल्लाका कतिपय ठाउँका किसानहरुले गोरु र हलोको सट्टा हाते ट्याक्टर पनि प्रयोग गरिरहेका छन् ।

आधुनिक कृषि प्रविधिमा जिल्लाभित्रका किसानको रुचि बढ्दो छ । किसानहरुलाई आधुनिक कृषि खेतीमा व्याबसायीक वनाउन हातेट्याक्टर लगायत कृषि सामाग्रीहरुमा कृषि विकास कार्यालय तथा कृषि क्षेत्रमा लगानी गर्ने अन्य सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले अनुदानको पनि व्यबस्था गर्दै आएको छ ।