नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

साउन अन्तिमवाट भूकम्प प्रभावितको छुट तथा पुनःजाँच सर्वेक्षण सुरुहुने

वि.एन. श्रेष्ठ, ओखलढुङ्गा, साउन २४ ।
साउन अन्तिमवाट भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनःजाँच सर्वेक्षण सुरु हुने भएको छ । घर क्ष्ति भएका तर लाभग्राहीको सूचिमा नपरेर गुनासो दर्ता गराएका भूकम्प प्रभावितको सर्वेक्षण हुन लागेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुरु गर्न लागेको छुट तथा पुनः जाँच सर्वेक्षणका लागि प्रभावित क्षेत्रमा जाने इन्जिनियरहरुका लागि अहिले तालिम चलिरहेको छ । गत आईतवारवाट सञ्चालन भैरहेको तालिममा ३ सय भन्दा बढि इन्जिनियरहरु सहभागी छन् ।

दुई चरणको तालिम सम्पन्न भएपछि इन्जिनियरहरुलाई फिल्डमा पठाईने तयारी रहेको छ । अनुदान लिन योग्य हुँदाहुँदै पनि छुटेका, यसअघि लिएको घरको फोटो प्रष्ट नभएका तथा गुनासो दर्ता गरेका प्रभावितको गुनासो संवोधन गर्न पुनः सर्वेक्षण हुन लागेको हो । इन्जिनियरले गुनासो राखेका प्रभावितको वास्तविक अवस्थाबारे तथ्याङ्क लिनेछन् । तालिम पछि पहिलो चरणमा ८ जिल्ला र त्यसपछि ६ जिल्लाको पुनःसर्वेक्षणको काम हुनेछ ।

२०७२ बैशाख १२, १३ र २९ गते गएको भूकम्प पछि २०७२ सालको पुस १९ गतेदेखि दोलखा जिल्लाबाट भूकम्प प्रभावितको लगत संकलन सुरु भएको थियो । त्यसयता ७ लाख ४९ हजार ८ सय ७ भूकम्प प्रभावित पहिचान भएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पछिल्लो तथ्याङ्कमा उल्लेख छ । तर पहिचानमा छुटेका, घर भत्केर पनि पूर्ण लाभग्राहीको सूचिमा नपरेका वा तथ्याङ्क संकलनमै चित्त नबुझेका २ लाखभन्दा बढिले आफूहरु पनि प्रभावित रहेको तर अनुदान सूचिमा किन नपरेको भनेर गुनासो दर्ता गरेका थिए ।

प्राधिकरणको सूचना व्यवस्थापन प्रणालीमा दर्ता भएकामध्ये २० हजारको गुनासो फछ्र्यौट भएपनि अरु बाँकी नै छन् । फछ्र्यौट गरिएका गुनासाको बारेमा स्थानीय नागरिकहरुले अशन्तुष्टि जनाउदै पुन गुनासो गरेका छन् । स्थानीय स्तरमा प्राबिधिक ईञ्जिनियर नगई हचुवाका भरमा गुनासोको सुनुवाई गरिएको भन्दै बास्तविकताका आधारमा गुनासोको संम्बोधन हुनुपर्ने उनीहरुको माग छ ।

प्राधिकरण भन्छ : गुनासो दर्ता गर्नको लागि अन्तिम मौका
विनाशकारी भूकम्प पश्चात भूकम्प प्रभावित जिल्लामा देखिएका समस्या र गुनासाहरुलाई सम्वोधन गर्नुपर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिम्मेवारी हो । तर पहिलो चरणमा भएको सर्वेक्षणले सबैको चित्त बुझेको छैन । सबै गुनासोकर्ताका गुनासो पनि सम्वोधन भएनन् । यस अघि भएको तथ्यांक संकलन प्राधिकरण र तथ्याङ्क विभागको सहकार्यमा प्रारम्भिक तथ्याङ्क संकलन भएको हो । छुटेका तर छुट्नु नहुने गुनासोलाई गम्भीरतापूर्वक लिएर पुनःजाँचको काम सुरु हुन लागेको प्राधिकरणका प्रवक्ता यमलाल भुषालले बताए । पुनःसर्वे गर्ने काम खर्चिलो हुने तथा पटक पटक इन्जिनियर पठाउन नसकिने भएकाले १४ जिल्लामा पुनःजाँचको कार्य अन्तिम मौका रहेको पनि प्राधिकरणले जनाएको छ ।

गुनासोकर्ता निवेदकवालाहरु कतिपयको निवेदन मात्रै छ । तर घर ठाउँ ठेगाना छैन । कसैको एकाघरको सगोल परिवारमा नै अर्को बस्ने सग्लो घर छ । कसैको एकाघरका बाबु–छोरा, श्रीमान्–श्रीमती छन् । कसैको दुईवटा घर छन् । तर एउटा सग्लो बस्न मिल्ने छ, यस्ता गुनासाका निवेदन पनि छन् । जो प्रभावित नै हो, अन्त बस्ने आधार छैन अनि लाभग्राही सूचिमा अहिलेसम्म पर्न पनि सकेन । उनीहरु छुट्नु भएन भनेर अवसर दिन लागेको प्राधिकरणले जनाएको छ ।

इन्जिनियरले सोध्ने प्रश्न र आफ्नो वास्तविक अवस्था बारे गुनासोकर्ताले बताउनुपर्नेछ । इन्जिनियरले घरको फोटो खिच्नेछन्, अन्य ठाउँमा सुरक्षित घर भए–नभएको बुझ्नेछन् । यसका लागि गुनासोकर्ताले सहयोग गर्नुपर्नेछ । यसरी हुने पुनःजाँच मनसुन सकिनु अघि नै सक्ने प्राधिकरणको योजना रहेको प्रवक्ता भुषालले जानकारी दिनुभयो । इन्जिनियरले ल्याएको तथ्याङ्कका आधारमा प्राधिकरणले गुनासाको फछ्र्यौट गर्नेछ । गुनासाहरुको फछ्र्यौट दसैँअघि नै सक्ने प्राधिकरणको लक्ष्य छ ।

पुननिर्माण प्राधिकरण अाेखलढुङ्गाका सुचना अधिकारी इश्वर चर्माकार

पुनःजाँचका लागि जानु अघि नै जनप्रतिनिधिहरुले गुनासो गर्ने सबैको नाम सूचिमा राख्नुपर्ने भन्दै प्राधिकरणलाई दवाव पनि दिएका छन् । तर प्राधिकरणले दवाव भन्दा पनि आवश्यक सहयोग गर्न आग्रह गरेको छ । डेढ महिनामा गुनासो संकलन र गुनासो गर्ने अवस्था पहिचान हुनेछ । केन्द्रमा सबैको तथ्याङ्क र अवस्था आएपछि एक महिना भित्रै गुनासोको विश्लेषण हुनेछ । जे जति अनुदान लिन योग्य सूचिमा पर्छन्, उनीहरुसँग सम्झौता गर्ने काम अघि बढ्नेछ । उनीहरुले अनुदान लिन तोकिएको मिति कात्तिक मसान्तसम्म सम्झौता गरिसक्नुपर्ने प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण ओखलढुङ्गाको तथ्यांक अनुसार हाल सम्म ओखलढुङ्गामा २० हजार १ सय ६५ जना भुकम्प प्रभावित भै नेपाल सरकारवाट प्राप्त अनुदान रकम रु ३ लाख लिन योग्य भनि आएको छ । त्यसमध्ये १८ हजार ७ सय ३५ जनाले सम्झौता गरिसकेका छन् भने १८ हजार ६ सय ८१ जनाले पहिलो किस्ता वापतको रकम पनि बुझिलिई सकेका छन् ।

त्यस्तै निजी निवास निर्माण गर्न ६ हजार ४ सय ७९ जनाले सुरुवात गरेको र ३ हजार ४ सय ९४ जनाको खातामा दोश्रो किस्ता वापतको रकम पनि जम्मा भै सकेको छ । तर हाल सम्म ओखलढुङ्गामा २ जनाले मात्रै अन्तिम किस्ता वापतको रकम बुझेको राष्ट्रिय पुननिर्माण प्राधिकरण ओखलढुङ्गाका सूचना अधिकारी ईश्वर चर्माकारले जानकारी दिए । निर्माण सम्पन्न भै सकेका घरहरु धेरै भएपनि गाँउमा रहेको प्राबिधिक ईञ्जिनियरहरु अष्पष्ट भएर तेश्रो किस्ताका लागि समेत सिफारिस नगर्दा तेश्रो किस्ता रकम लिनेको संख्या कम भएको पनि सूचना अधिकारी चर्माकारले जानकारी दिए ।