नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

कोरोनाको जोखिम मोल्दै सांसद सुनुवार निर्वाचन क्षेत्रमा

ओखलढुङ्गान्युज, चैत २४ ओखलढुङ्गा कोरोना संक्रमणको महामारी फैलने त्रास भैरहेको बेला ओखलढुङ्गाबाट निर्वाचित संघिय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार आफ्नो निर्वाचन क्षेत्र आउनुभएको छ । कोरोना संक्रमणबाट बच्नका लागि आवश्यक पर्ने सुरक्षाको सामाग्रीहरु लिएर सांसद सुनुवार ओखलढुङ्गा आउनुभएको हो ।

सांसद सुनुवार आफुले लिएर आएको सामाग्रीलाई कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि ओखलढुङ्गामा गठन भएको कमाण्ड पोष्टलाई हस्तान्तरण गर्नुभएको छ । उक्त सामाग्रीहरुलाई जिल्लाका स्थानीय तहहरुको स्वास्थ्य संस्थामा भएको आवश्यकताका आधारमा वितरण हुने कमाण्ड पोष्टले जनाएको छ ।

सांसद सुनुवारले महामारीको रुपमा बढ्दै गएको कोरोना भाईरसको संक्रमणका विरुद्धमा लागि परिरहेको स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधी, कर्मचारी तथा नागरिकहरुको मनोबल बढाउने उद्देश्यले ओखलढुङ्गा आएको बताउनुभएको छ । सांसद सुनुवारले जिल्लाका सिद्धिचरण नगरपालिकाको ओखलढुङ्गा क्याम्पसमा रहेको क्वारेन्टाईन, रुम्जाटारमा र सामुदायीक अस्पताल सेब्रुमा रहेको क्वारेन्टाईन तथा आईसोलेशन कक्षको अवलोकन तथा अनुगमन गर्नुभएको छ ।

त्यस्तै सांसद सुनुवारेल मोलुङ गाउँपालिकाको रामपुरमा रहेको क्वारेन्टाईन कक्ष, सुनकोसी गाउँपालिकाको मूलखर्कमा रहेको क्वारेन्टाईन कक्षका साथै मानेभञ्ज्याङ्ग गाउँपालिकाको मानेभञ्ज्याङ्गमा रहेको क्वारेन्टाईन कक्षको समेत अनुगमन तथा अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा सांसद सुनुवारले स्वास्थ्यकर्मीहरुसग छलफल समेत गर्नुभएको छ ।

सांसद सुनुवारले जिल्लाका स्थानीय तहका प्रमुखहरुसग समेत छलफल स्थानीय सरकारहरुका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरुका लागि आफुले केन्द्र सरकारमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आफुले केही थान पीपीई सेट जिल्लामा उपलब्ध गराएको भएपनि थप आवश्यकता परेमा जिल्ला तथा स्थानीय तहलाई उपलब्ध गराउन आफुले पहल गर्ने समेत बताउनुभयो ।

विश्वभरि फैलिएको यस्तो विषम परिस्थितिमा डाक्टर, सुरक्षाकर्मी, सञ्चारकर्मीहरुको भूमिका उल्लेखनीय रहेको भन्दै थप मनोबलका साथ काम गर्न सांसद सुनुवारले आग्रह गर्नुभयो । सांसद सुनुवारले जिल्लामा आवश्यक जनशक्ति र थप उपकरणका लागि केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेकाले केही दिनमा थप सामग्री उपलब्ध हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

अहिलेसम्म ओखलढुङ्गामा कुनैपनि कोरोना भाईरसको संक्रमितहरु नदेखिएको भएपनि भाईरस संक्रमणको आशंकामा ६ जनाको स्वाब परीक्षणका लागि धरानमा रहेको अस्पतालमा पठाईएको छ । स्वाब परीक्षणका लागि पठाईएका मध्ये २ जनाको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।