नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

आज २५औं जनयुद्ध दिवस, ओखलढुङ्गामा पनि मनाईदै

ओखलढुङ्गान्युज, फागुन १, ओखलढुङ्गा । नेपालमा आज देशभर जनयुद्ध दिवस मनाईदै छ । तत्कालिन नेकपा माओवादी नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि अर्थात आजकै दिनवाट सशस्त्र जनयुद्ध शुरू भएको थियो । देशमा सुरुवात भएको १० बर्षे सशस्त्र जनयुद्धको २५औं दिवस आज देशभर मनाइँदैछ ।

जनयुद्ध शुरू भएको दिन फागुन १ लाई स्मरण गर्दै पूर्वमाओवादीबाट विभाजन भएका, जनयुद्धमा संलग्न नेता÷कार्यकर्ता र शहीद परिवारले यो दिवस मनाउने गर्दछन् ।  सिन्धुली र गोरखा लगायत केही जिल्लाका बैंक तथा गाउँगाउमा रहेका प्रहरी पोष्टहरु कब्जा गर्दै शुरू भएको जनयुद्धकै कारण नेपालमा राजतन्त्रको अन्त्य भएको थियो ।

द्वन्द्वरत तत्कालीन नेकपा माओवादी तथा संसदवादी सात राजनीतिक दलहरुबीचको सम्झौता पश्चात २०६२–६३ मा भएको जनआन्दोलनबाट प्रतिनिधिसभा पुनर्स्थापना भएको थियो । पुनर्स्थापित  प्रतिनिधिसभाको पहिलो बैठकले नेपालबाट राजतन्त्र अन्त्य भएको घोषणा गरेको थियो ।  जनयुद्धको नेतृत्व गरेका तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साविकको नेकपा एमालेसँग पार्टी एकीकरण पश्चात हाल सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष छन् ।

तत्कालीन जनयुद्ध सञ्चालन गर्ने मातृपार्टी नेकपा माओवादी हाल दर्जनौंको संख्यामा टुक्रिएको छ । प्रचण्ड नेतृत्वको माओवादी टिम एमालेसग एकिकरण भएपनि मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव लगायतले पूर्व माओवादी आन्दोलनकै पृष्ठभूमीमा फरक समूहहरुबाट राजनीति अघि बढाएका छन् ।  १० बर्षसम्म चलेको हिंसात्मक सशस्त्र द्वन्द्वका क्रममा करिब १७ हजार भन्दा बढि नेपालीहरुले ज्यान गुमाएका थिए भने हाल सम्म पनि हजारौंको संख्यामा बेपत्ता रहेका छन् ।

जनयुद्धको नेतृत्व गर्ने प्रचण्ड नेतृत्वको माओवादी एमालेमा समाहित भई नेकपा बनेसगै देशका धेरै जिल्लाहरुमा आज संयुक्त रुपमा जनयुद्ध दिवस मनाउदैछन् । प्रदेश नं. १ का सबै जिल्लामा जनयुद्ध दिवस मनाउने क्रममा ओखलढुङ्गामा पनि आज नेकपाका आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडा र संघिय प्रतिनिधी सभाका सांसद तथा नेकपाका केन्द्रिय सदस्य यज्ञराज सुनुवारको उपस्थितीमा सहिद स्मृति दिवस मनाउने कार्यक्रम रहेको सिद्धिचरण नगर कमिटिका ईञ्चार्ज गुण कुमार राईले जानकारी दिनुभयो ।