नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

आजबाट सुरुभयो श्रीस्वस्थानी व्रत

ओखलढुङ्गान्युज, पौष २५ ओखलढुङ्गा । आजवाट श्रीस्वस्थानी ब्रत सुरुभएको छ । प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमाका दिनवाट सुरु हुने हिन्दू धर्मावलम्बीहरुले मान्दै आएको श्रीस्वस्थानीको व्रत तथा श्रीस्वस्थानी व्रतकथा बाचन आजबाट शुरु भएको छ ।

श्रीस्वस्थानीको व्रत बसे तथा कथा भने वा ध्यानमग्न भै सुनेमात्रै पनि मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म सक्नेले दैनिक नुहाईधुवाई गरि ब्रत बस्ने र नसक्नेले हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ ।

आजैबाट काठमाडौंको शालीनदीमा मेला सुरु भएको छ । पुस २५ गतेदेखि १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्यलगायतका विषयमा सम्पूर्ण तयारी पूरा भइसकेको सालीनदि मेला मूल आयोजक समितिले जनाएको छ ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि पार्वतीले नै लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गरेको कथाका रूपमा यो नेपाली समाजमा प्रचलित छ ।

श्री स्वस्थानीको प्रायगरि महिलाहरु मात्र ब्रत बस्ने प्रचलन रहिआएको छ । व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेको खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । स्वस्थानीमा कसैले पनि अभिमान र अवहेलना गर्न नहुने, सधैँ सत्यको जीत र असत्यको हार हुन्छ जस्ता नैतिक शिक्षा पनि समाजलाई दिन खोजिएको छ । परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ ।