नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

दुईओटा  ‘एम–२८ स्काई ट्रक’ नेपालमा

ओखलढुङ्गान्युज, मंशिर २३, काठमाडौं । अमेरिकावाट दुई वटा ‘एम–२८ स्काई ट्रक’ आइतबार बिहान नेपालको काठमाडौं आइपुगेको छ । २०७२ सालमा गएको महाबिनाशकारी भूकम्पपछि आपतकाली उद्धार तथा सामाग्री ढुवानी प्रयोजनार्थ अमेरिकाले नेपाललाई सैन्य सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । सोहि प्रतिबद्धता अनुरुपको स्काई ट्रक नेपाल आईपुगेको हो । 

केहिदिन अगाडी अमेरिकी सहायक रक्षामन्त्री रेन्डल जी स्क्राइभरले नेपाल भ्रमण गरेर गएका थिए । रेन्डलले नेपाल भ्रमण गरेर उच्च स्तरीय भेटवार्ता गरेलगत्तै ‘स्काई ट्रक’ नेपाल आइपुगेको हो । यसअघि अमेरिकाले ४ वटा ‘स्काई ट्रक’ दिने घोषणा गरेको थियो । नेपाली सेनाका सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले स्काई ट्रक काठमाण्डौं आइपुगेको पुष्टि गरेका छन् ।

प्रतिबद्धतामा पहिले विमानसँगै मर्मतसम्भार तालिमका लागि प्राविधिक जनशक्ति पनि नेपालमा पठाउने जनाइएको थियो । सोही अनुरुप  केहि पार्टपूर्जा समेत स्काई ट्रक सगै आएको छ । हाल सेनाको हवाई सेवा निर्देशनालयमा कार्यरत सैनिक अधिकृतलाई पछि अमेरिकामै बोलाएर पनि तालिम दिन सकिने बताइएको छ ।

सबैभन्दा ठूलो विमान उत्पादक कम्पनी पोल्याण्डको पोलस्की ज्याकलेडी लोट्निच्ज (पीजेडएल मियलेक) सँग अमेरिकाले ती विमान खरिद गरेर नेपाललाई पठाएको हो । दोस्रो चरणमा थप दुई वटा विमान पठाउने अमेरिकी अधिकारीको तयारी छ । थप विमान सन् २०२२ को अन्त्यसम्ममा आइपुग्ने नेपाली सेनाको जंगीअड्डाले जनाएको छ । तेस्रो चरणमा अमेरिकाले एयर एम्बुलेन्स समेत दिने जनाइएको छ । जसमा आवश्यकता अनुसार विमानभित्रै पनि शल्यक्रिया गर्न मिल्ने व्यवस्था हुनेछ । सबै विमान विपतको समयमा उपयोगी हुने विश्वास सेनाले लिएको जनाइएको छ ।

विपदको घटना घटेको तथा यातायात र पैदलबाट समेत उक्त स्थानमा पुग्नका लागि कठिन हुने स्थानमा हवाई सेवाको माध्यमबाट अत्यावश्यक वस्तु ढुवानी गर्ने जहाजलाई ‘स्काई ट्रक’ भनिन्छ । यसलाई कार्गो विमान पनि भन्ने गरिन्छ । हाल नेपाली सेनासँग पोल्याण्डमै बनेको एम २८ ‘स्काई ट्रक’ पनि छ ।

यसअघि नेपाली सेनासग तीनओटा  ‘स्काई ट्रक’ भए पनि अहिले एउटा मात्रै चालू अवस्थामा छ । ती ‘स्काई ट्रक’ले मुस्ताङ, मनाङ, जुम्लालगायतका हिमाली जिल्लामा विभिन्न सामाग्री लिएर उडान गर्ने गरेका छन् । ढुवानीका अलवा विशिष्ट पाहुना बोक्न पनि यो जहाज प्रयोग हुने गर्छ । डबल इञ्जिन भएको यो जहाजको सिट क्षमता १८ जनाको रहेको सैनिक मुख्यालयले जनाएको छ ।