नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा पशुविमा कार्यक्रम सुरु

ओखलढुङ्गान्युज, कात्तिक २४, ओखलढुङ्गा । ओखलढुङ्गामा पहिलो पटक पशु बिमा कार्यक्रम संस्थाहरु मार्फत सुरु भएको छ । गत बिहिवार जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. ३ सिस्नेरीबाट पशुबिमा कार्यक्रम सुरु गरिएको हो । राष्ट्रिय कृषक समुह महासंघ नेपाल, ओखलढुङ्गाले सञ्चालन गरेको सामथ्र्य परियोजना अन्तर्गत पशु बिमा कार्यक्रमको सुरुवात गरिएको हो ।

पशुपालन गर्ने कृषकहरुको पशुहरु कुनै पनि कारणले मर्दा लाखौको क्षति बेहोर्नु परेकोमा आगामी दिनमा त्यस्ता क्षति कृषकहरुले मात्रै खप्नु नपरोस भनेर बिमा सुरुवात गरिएको हो । उक्त उद्धेश्यका साथ सुरु गरिएको पशु विमा कार्यक्रम सुनकोशी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष विष्णु कुमार खड्काको घरबाट सुरु गरिएको छ । पशु विमा कार्यक्रम राम्रो भएको र यसमा आफुले सुनकोसी गाउँपालिकासँग समेत समन्वय गरेर आवश्यक सहयोग गर्ने वडा अध्यक्ष विष्णुकुमार खड्काले बताउनुभएको छ । 

यो वर्ष सुनकोशी गाउँपालिकाको वडा नं.४ र ६ बाहेक अरु ८ वटा वडामा पशुबिमा कार्यक्रम सञ्चालन गरिने राष्ट्रिय कृषिक समुह महासंघ नेपाल जिल्ला कार्य समिति ओखलढुङ्गाले जनाएको छ । राष्ट्रिय कृषिक समुह महासंघ नेपाल ओखलढुङ्गाको सामथ्र्य परियोजना अन्तर्गत हाललाई सुनकोशी गाउँपालिकाको ८ वडामा मात्रै बिमा कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम अधिकृत सरस्वती कटुवालको बताउनुभयो । कटवालका अनुसार सुनकोशी गाउँपालिका ३ मा ४४ वटा पशुको विमा गरिएको छ ।

परियोजना सञ्चालन भएपछि परियोजना लागू भएका पालिका तथा वडा र क्रमशः जिल्लाका अन्य पालिकाहरुमा समेत पशु विमा कार्यक्रम सञ्चालनका लागि पहल गरिने राष्ट्रिय कृषिक समुह महासंघ नेपाल ओखलढुङ्गाका अध्यक्ष हेम कुमार घिमिरेले बताउनुभयो । जिल्लामा पशु विमा कार्यक्रम पहिलेदेखी नै सुरुवात भएको भएपनि संस्थागत सुरुवात भने पहिलो हो ।