नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

बादरलाई बन्दुक हान्दा ओखलढुङ्गामा एक युवाको ज्यान गयो

विवेश श्रेष्ठ, कात्तिक १८, ओखलढुङ्गा । बादर लखेट्ने क्रममा बन्दुक पड्काउदा ओखलढुङ्गामा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका वडा नं. ३ प्राप्चा, साविकको हर्कपुर गाविस वडा नं. ८ का अष्ट बहादुर तामाङका छोरा वर्ष १७ का लालमान तामाङ रहेका छन् ।

आईतवार दिउसो मृतक लालमान तामाङ सहितका ६ जना भएर जंगल गएका थिए । बादरहरुले बारीमा लगाएको बालीनाली नास गरेको भन्दै सबैजना मिलेर बादर लखेट्न भनी भरुवा बन्दुक बोकेर घरबाट हिडेका थिए । जंगल गएका उनीहरुले मोलुङ गाउँपालिका वडा नं. ३ को थुम्की भन्ने स्थानमा रहेको बादरको समूहलाई लखेट्ने क्रममा अचानक बन्दुक पड्किएर मृतक तामाङको चाकमा लागेको थियो ।

अबैध रुपमा लुकाई छिपाई राखेको भरुवा बन्दुक पड्किएर तामाङ घाईते भएपछि सगै गएका उनका साथिहरुले घरमा ल्याएका थिए । गाउँमा हल्ला हुने डरले अरु कतै तिर हल्ला नगरी राती एउटा गाडीलाई रिजर्भ गरेर घाईतेलाई काठमाण्डौं तर्फ लगेका थिए । काठमाण्डौं लादै गर्दा सिन्धुलीको खुर्कोटमा घाईते तामाङको मृत्यु भएपछि तामाङलाई लिएर गएको गाडी ओखलढुङ्गा तर्फ नै फर्काएका थिए ।

अरु स्थानीय तथा प्रहरीलाई थाहा नदिई काठमाण्डौं लगिएको र मृत्यु भएपछि फेरी गाउँमा ल्याईदै गर्दा  प्रहरीले सूचना पाएको थियो । प्रहरीले सूचना पाउनासाथ र पछ्याउदै जादा लास बोकेको गाडीलाई आज (शोमबार) दिउसो करीब २ बजे सिद्धिचरण नगरपालिका वडा नं. ११ रमाईलोडाँडाँवाट लास तथा लास बोक्न प्रयोग गरिएको गाडी तथा गाडीमा रहेको मोलुङ गाउँपालिका वडा नं. ३ का चित्र बहादुर सुनुवारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो ।

बादर लखेट्न गएका मृतक तामाङका अरु साथिहरु फरार रहेका छन् । मृतक तामाङसग बादर लखेट्न गएका मोलुङ गाउँपालिका वडा नं. ३ कै सविन सुनुवार, पदम सुनुवार, सुन्दर तामाङ र रुकमान तामाङ भने फरार रहेको पनि प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भै रहेको र अनुसन्धान पछि मात्रै थप विवरण सार्वजनिक गर्न सकिने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।