नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

आज गाईजात्रा पर्व ओखलढुङ्गामा पनि मनाईदै

ओखलढुङ्गान्युज, साउन ३१, ओखलढुङ्गा । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमी आठ दिन सम्म मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम सहित सुरुवात हुँदैछ ।

आजको दिन एक वर्षभित्र अर्थात् गत वर्षको भाद्र कृष्ण प्रतिपदादेखि पछाडी दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने प्रचलन रहेको छ । बजार परिक्रमा गराउने क्रममा उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समातेर वैतरणी नदि पार हुन्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।

मल्ल राजाहरूको पालामा राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिएका थिए । तर गाईजात्रा मात्र निकालेर यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन त्यसबेला देखि आजसम्म पनि चलि आएको हो भन्ने जनश्रुति पाइन्छ ।

देशका विभिन्न शहरहरुमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देख्न सकिन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृति विसङ्गतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

आजको दिन पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरा, ओखलढुङ्गा लगायत नेवार समुदायको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ ।

गाईजात्राको अबसरमा ओखलढुङ्गामा पनि विशेष तयारी गरिदै छ । लामो समयदेखि एउटै समुहमा रहेर सदरमुकाम ओखलढुङ्गामा मनाउने गरिएको लाखेनाच र गाईजात्रा पर्व अहिले भने दुई समुहमा मनाइन्छ । लामो समयसम्म एकै समूहमा मनाईदै आएकोमा समुह विवादका कारण अहिले सदरमुकाममा दुई समुह मार्फत यो पर्व मनाईदै आएको छ ।

गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।