नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा साझा सभा, चार बुँदे प्रतिबद्धतामा हस्ताक्षर

 

ओखलढुङ्गान्युज, असार १७ ओखलढुङ्गा । ओखलढुङ्गामा शोमवार साझा सभा कार्यक्रम सम्पन्न भएको छ । दिगो विकास र सार्वजनिक सेवा प्रबाहका बारेमा ओखलढुङ्गामा आयोजना गरिएको साझासभा कार्यक्रममा सेवा प्रदायक निकायहरुको तर्फवाट चार बुदे प्रतिबद्धता पत्र समेत जारी गरिएको छ ।

जिल्ला सदरमुकामको थोकर गेष्ट हाउसको सभाहलमा आयोजना गरिएको कार्यक्रममा सेवाप्रदाय, जनप्रतिनिधी, नागरिक समाज संस्थाका प्रतिनिधी, पत्रकार तथा सेवाग्राही नागरिकहरु समेत गरि करीब ५० जनाले सहभागीता जनाएका थिए । साझासभा कार्यक्रममा सहभागीहरुले सेवा प्रदायक निकायहरुलाई जिल्लामा भै रहेको असारे विकास, सुरक्षाको अवस्था, लक्षित वर्गको बजेटमा जनप्रतिनिधीको ध्यानका बारेमा प्रश्न गरेका थिए ।

त्यसैगरि सहभागीहरुले भुकम्प पश्चात ओखलढुङ्गामा पुननिर्माणको अवस्था, जिल्लामा पछिल्लो दिनमा बढ्दै गएको सुरक्षाको अवस्था तथा विकास निर्माणका क्रममा भैरहेको अनियमिततामा जिल्ला प्रशासन कार्यालयको धारणा तथा सुचनाको हकलाई कार्यान्वयन गराउनका लागि जिल्ला प्रशासन कार्यालयको योजनाका बारेमा प्रश्न समेत गरेका थिए ।

साझा सभा कार्यक्रममा उठेका प्रश्नहरुलाई सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पुष्पराज मल्ल, सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराई, राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला कार्यक्रम कार्यान्वयन ईकाई ओखलढुङ्गाका प्रमुख युवराज खरेल, नेपाल रेडक्रस सोसाईटी ओखलढुङ्गा शाखाका सभापती सुमन राजभण्डारी, ओखलढुङ्गा होटल व्यबसायी संघका अध्यक्ष थगेन्द्र राईले जवाफ दिनुभएको थियो । साझा सभा कार्यक्रममा जिल्ला समन्वय समितिको तर्फवाट उपस्थितीका लागि अनुरोध गरिएको भएपनि जिल्ला समन्वय समितिको तर्फवाट भने उपस्थित रहेको थिएन ।

कार्यक्रममा जिल्लाका सबै स्थानीय तहहरुहरुलाई समन्वय गर्ने र अनुगमन गर्ने निकाय जिल्ला समन्वय समिति भएको कारणले पनि यस्ता कार्यक्रममा जिल्ला समन्वय समितिको अनिवार्य उपस्थिती हुनुपर्ने सहभागीहरुले बताएका थिए । जिल्लाको स्थानीय तहहरुसग जिल्ला समन्वयको तर्फवाट भै रहेको समन्वय र अनुगमनको अवस्थाका बारेमा जिल्ला समन्वय समितिको तर्फवाट जवाफ लिनुपर्ने सहभागीहरुको भनाई थियो ।

साझा सभा कार्यक्रममा सेवा प्रदायक संस्थाहरुको तर्फवाट चार बुदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको छ । प्रतिबद्धतापत्रमा सेवा प्रदायक कार्यालयहरुका तर्फवाट सार्वजनिक गर्नुपर्ने २० प्रकारका सुचनालाई आर्थिक वर्ष २०७६/०७७ बाट नियमित रुपमा सार्वजनिक गर्ने, पुननिर्माणको क्रममा देखिएका समस्याहरुलाई हल गर्दै असार  मसान्त सम्म ओखलढुङ्गामा पहिलो किस्ता नपाउनेको संख्या शून्यमा पु¥याउने रहेको छ ।

त्यस्तै लाभग्राही सूचिमा परि पहिलो किस्ता रकम लिएर पनि घर बनाउन नसकेका एकल महिलाहरुलाई थप ५० हजार उपलब्ध गराउन तथा केही एकल महिलाहरुको घरलाई सामजिक संस्थाहरुसग मिलेर नमूनाको रुपमा निर्माण गरिदिने, विकास निर्माणलाई गुणस्तरीय बनाउने, शुशासन र पारदर्शीतालाई थप प्रभावकारी बनाउनका लागि सार्वजनिक सुनुवाई लगायतलाई थप थप विस्तार गर्न नीतिगत रुपमा नै पहल गर्ने प्रतिबद्धता जनाईएको छ ।

साझा सभा USAID/Fhi360 को वित्तिय सहयोगमा सोच नेपालले ओखलढुङ्गामा सञ्चालन गरेको नागरिक समाज स्थानीय अभियान कार्यक्रम भिजन एफएम ओखलढुङ्गा र सोच नेपाल ओखलढुङ्गाको आयोजनामा सम्पन्न भएको भिजन नेपाल ओखलढुङ्गाका अध्यक्ष पूर्ण प्रसाद न्यौपानेले जानकारी दिनुभयो । साझा सभा कार्यक्रमलाई भिजन एफएम ९०.५ मेगाहर्जले प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।