नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

१५ करोडको कारोबार गर्दै सकियो प्रथम ओखलढुङ्गा महोत्सव

ओखलढुङ्गान्युज, बैशाख ११ ओखलढुङ्गा । प्रथम ओखलढुङ्गा महोत्सव मंगलवार सम्पन्न भएको छ । जिल्लामा उद्योगको विकाससगै पर्यटनको प्रबर्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रथम ओखलढुङ्गा महोत्सवमा १५ करोड भन्दा बढिको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ ।

महोत्सवको २०७५ चैत ३० गते नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले उद्घाटन गर्नुभएको थियो । महोत्सवको समापनमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आउने बताईएपनि राईको उपस्थिती नहुदा संघिय प्रतिनिधीसभाका माननिय सांसद यज्ञराज सुनुवारले सम्बोधन गर्दै महोत्सवको समापन गर्नुभएको छ । समापन समारोहलाई सम्बोधन गर्दै सांसद सुनुवारले प्रथम ओखलढुङ्गा महोत्सवले जिल्लाको विकासमा टेवा पुग्ने बताउनुभयो । ओखलढुङ्गामा केही दिन अगाडी मात्रै थोलेदेम्बा महोत्सव भएको, भर्खरै ओखलढुङ्गा महोत्सव सकिएको र केही समयमा नै सेप्ली झरना महोत्सबको समेत तयारी गरिदै गरेको बताउनुभयो ।

यस्तो महोत्सवले महत्वपूर्ण स्थान विशेषको चिनारी सगै दिगो विकास र पर्यटन प्रबर्धनमा निकै मद्दत पुग्ने समेत उहाँको भनाई थियो । सम्बोधनका क्रममा सांसद सुनुवारले भन्नुभयो, ‘आगामी दिनमा जिल्लालाई कृषिमा पूर्ण रुपमा आत्मनिर्भर बनाउन र विशेष स्थानहरुको पहिचान तथा प्रचार–प्रसार गर्दै पर्यटन प्रबर्धनका लागि ति स्थानहरुको विकासका लागि सबै जनप्रतिनिधीहरुले गाउँगाउँवाटै योजना बनाएर लाग्नुपर्छ । तब मात्रै यस्ता महोत्सबहरुले सार्थकता पाउनेछ ।’

उद्योगको विकाससँगै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पहिलो पटक जिल्लामा आयोजना गरिएको महोत्सवमा १५ करोड रुपैंया बराबरको कारोबार भएको उद्योग बाणिज्य संघ ओखलढुङ्गाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले बताउनुभयो । महोत्सववाट धेरै पैसा कमाउने उद्देश्य नभई जिल्लाको उद्योगको विकासमा सहयोग पुर्याउने उद्देश्यले महोत्सबको आयोजना गरिएको पनि उहाँको भनाई थियो । महोत्सबको आम्दानी खर्चको बारेमा हिसाब हुदै गरेकोले आम्दानी भयो वा घाटा भयो भनेर केही दिनमा थाहा हुने र सबैले थाहा पाउने गरि नै आफुहरुले सार्वजनिक गर्ने पनि उहाँले बताउनुभयो । मौसमको प्रतिकूलता सगै अन्य केही कारणले सोचे जस्तो महोत्सव सञ्चालन गर्न नसकेको पनि मास्केले बताउनुभयो ।

सम्पन्न ओखलढुङ्गा महोत्सवमा स्थानीय जातजातीको भेषभूषा, तामा र फलामका भाडा, उनबाट उत्पादित राडी, लम्पट, कृषिजन्य वस्तु, उन्नत जातका पशु वस्तु,  लगायत विशेष आकर्षणको रुपमा राखिएको थियो । महोत्सवमा लक्ष्य गरे अनुसारको स्टल भरिभराउ नभएपनि मौसमको प्रतिकुलताका बाबजुद महोत्सब राम्रो रहेको महोत्सव अवलोकनका लागि आएकाहरुले बताएका छन् ।

महोत्सवका जिल्ला सदरमुकामको बजार क्षेत्रमा पहिलो पटक प्याराग्लाइडिङको उडान समेत गरिएको थियो । महोत्सवको आवसरमा प्रचार प्रसार गरिएको विञापन अनुसार माउण्टेन फ्लाईट र उँटामा सवार गर्न नपाउदा भने आयोजकले झुट बोलेका समेत महोत्सवमा सहभागी हुन टाढाबाट आएकाहरुको गुनासो थियो । कार्यक्रमको उद्घाटन देखी दैनिक कलाकारको साङ्गीतिक प्रस्तुतिले महोत्सव प्राङ्गणमा दर्शकको बाक्लो उपस्थिति थियो ।

 कार्यक्रमको अबधिभरमा आएका कलाकारहरु मध्ये ज्योती मगर, खुमन अधिकारी, नविन पौडेल, प्रकाश कटवाल, रोज मोक्तान, रमेश मेलोडी, निशा लामा, मेलीना बुढाथोकी, बालकुमार श्रेष्ठ, सिता धमला, लगायतहरु दर्शक तथा श्रोताहरुको विशेष मनमा बस्न सफल बने । आयोजकका अनुसार ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र उदयपुर लगायतका विभिन्न जिल्लाका करीब ५० हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् ।