नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गा महोत्सवले विद्यार्थी भर्ना अभियान प्रभावित

ओखलढुङ्गान्युज, बैशाख ३ ओखलढुङ्गा । ओखलढुङ्गामा चैत ३० गते देखी प्रथम ओखलढुङ्गा राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सव सञ्चालन भै रहेको छ । सञ्चालन भैरहेको महोत्सवले सगरमाथा जनता माद्यमिक विद्यालयको विद्यार्थी भर्ना अभियानलाई प्रभावित गरेको छ ।

बैशाख २ गते देखि राष्ट्रिय रुपमा नै सामुदायीक तथा निजी विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन भै रहेको छ । तर ओखलढुङ्गामा भने महोत्सवका कारण आफुहरुले आफ्ना बच्चाहरुलाई भर्ना गराउन असहज भएको अविभावकहरुले गुनासो गरेका छन् ।

सगरमाथा जनता माद्यमीक विद्यालयको खेलमैदानमा सञ्चालन भै रहेको महोत्सव स्थललाई चारै तर्फवाट टिनको पाताले घेरीएको छ । विद्यालयको हातामा प्रबेश गर्न महोत्सव स्थल हुदै जानुपर्छ । तर महोत्सव आयोजकहरुले साना नानीहरुदेखी ठूला अविभावकहरुलाई समेत रु ५० को प्रबेश टिकट भिडाएर मात्रै प्रबेश गर्न दिएको छ ।

आफु महोत्सव स्थलमा मनोरञ्जनका लागि नभई बच्चालाई विद्यालयमा भर्ना गर्न जादा टिकट नकाटी प्रबेश गर्न नदिएको अविभावक सावित्रा श्रेष्ठले बताउनुभयो । बच्चालाई विद्यालय भर्ना अभियान अन्तर्गत समयमा नै भर्ना गर्न जादा अनिवार्य प्रबेश टिकट काटी जरिवाना तिर्नु परेको महशुस भएको पनि उहाँले बताउनुभयो ।

त्यस्तै अर्का अविभावक चन्द्र गुरुङले आफुहरुलाई विद्यालयले जरिवाना तिराएको गुनासो गर्नुभयो । ‘मेरो बच्चा छैठौं, सातौ स्थानमा छ रे । समयमा नै भर्ना नगरे रोल नम्बर पछाडी पर्छ । रोल नम्बर अगाडी भैकन पनि पछि हुदा बच्चालाई मानसिक असर पर्छ भनेर आजै भर्ना गर्न आएको । तर यहाँ त ५० रुपैया जरिवाना तिर्नुपर्यो । पैसा नतिरी भित्र जान नपाईने रे । भित्र नजाउ भर्ना गर्न पाईन्न ।’ गुरुङले भन्नुभयो, ‘भित्र गएको पनि पैसा तिर्नुपर्ने । यहीबाट पास भएर अर्को कक्षामा चढेकोलाई पनि भर्ना शुल्क बुझाउनुपर्ने रे । यस्तो भन्दा त नजिकै अर्को राम्रो स्कूल भएको भए उतै भर्ना गराउथे ।’

अविभावकको गुनासोको बारेमा विद्यालय प्रशासनले भने आयोजकसँग समन्वय गरेर पहिलो दिनको भर्ना अभियान सञ्चालन गरेको बताएको छ । आयोजकलाई समयमा नै जानकारी गराएर विद्यालय छिर्ने छुट्टै बाटोको व्यबस्था गर्न अनुरोध गर्दा आयोजकले वास्ता नगरेको विद्यालयका प्रधानाध्यापक माधव कुमार मास्केले बताउनुभयो ।

‘हामीले महोत्सव स्थल तयार गर्दा नै भनेका थियौ । बैशाख २ देखी भर्ना अभियान छ । कि विद्यालय छिर्ने छुट्टै बाटोको व्यबस्था गरिदिनुपर्छ । नत्र विद्यार्थी र अविभावकलाई विद्यालयसम्म सहजै जान सक्ने वातावरण हुनुपर्छ ।’ मास्केले भन्नुभयो, ‘त्यतिखेर मिलाई हाल्छौ नि भने । तर अहिले समस्या भयो । तर पनि पहिलो दिन भएकोले विद्यार्थी र अविभावकलाई कुनै नाकाबन्दिमा प्रहरीले स्कटिङ गरे झै २०–२५ जनाको विद्यार्थी र अविभावकको ग्रुप बनाएर विद्यालय प्रबेश गरायौं । भर्ना गरि सकेपछि त्यसैगरि गेटसम्म पुर्यायौं । यसोगर्दा हाम्रो भर्ना अभियान प्रभावित भै विद्यार्थी संख्या घट्ने हो कि भन्ने चिन्ता थपिएको छ ।’

यस विद्यालयमा नै परीक्षा दिई उत्तिर्ण भएका विद्यार्थीहरुको भर्ना विद्यालय खुलेको पहिलो दिन ५० देखि ६० प्रतिशत सम्म हुन्थ्यो । तर महोत्सवका कारण २० प्रतिशतको पनि भर्ना हुन नसकेको विद्यालयका शिक्षक आनन्द राजभण्डारीले बताउनुभयो । विद्यालयको तर्फवाट पहिले नै भन्दा हुन्छ भनेको तर अहिले आयोजकले विद्यालयको समस्याको बारेमा समन्वय नगरेको पनि उहाँको गुनासो छ । सगरमाथा जनता माद्यमिक विद्यालयमा बार्षिक करीब ४ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।