नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

पाँचौ साफ महिला फुटबलमा नेपालको विजयी सुरुवात

ओखलढुङ्गान्युज, फागुन २८ विराटनगर ।  मंगलवार भएको साफ च्याम्पियनसिप फुटवल खेलमा नेपाली महिला टोलीले विजयी सुरुवात गरेको छ । गेमको आयोजक नेपालले पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आफ्नो प्रतिद्वन्दी भूटानलाई हराउदै विजयी सुरुवात गरेको हो ।

आज विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गरेको छ । नेपालको जीतमा कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले गोल गरेका हुन । मध्यान्तर अगाडीसम्म दुईगोल गरेको नेपालले मध्यान्तरपछि थप एकगोल थप्दै तिन शुन्यले नेपाल विजयी भएको हो ।

खेल सुरु भएको १३ औं मिनेटमा नेपालको तर्फवाट पहिलो गोल भएको थियो । खेलाडी मञ्जलीले गरेको पहिलो गोलवाट नेपालले अग्रता लिएको थियो । १६ औं मिनेटमा सावित्रा भण्डारीले गोल थप्दै नेपालको अग्रता दोब्बर पारिन् । एकपछि अर्को दबाब बनाएको नेपालले पहिलो हाफमा अरु थुप्रै अबसरहरु पाएपनि त्यसको सदुपयोग भने गर्न सकेन ।

खेलको ४२ औं मिनेटमा सावित्रा भण्डारीले राम्रो अवसर गुमाइन् । उनले वान भर्सेस् वानको अवस्थामा पनि गोल गर्न चुकिन् । त्यस्तै, पहिलो हाफको अन्तिम समयमा अनिता बस्नेतले प्रहार गरेको बल भुटानका गोलरक्षकले बचाएकी थिइन् । खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै नेपालको जीत सुनिश्चित गरेकी थिइन् । उनले सावित्राको हेडर बललाई गोलमा परिणत गरेकी थिइन् ।

आज भएको खेल अवधिभर नेपालले भुटानलाई दबाबमा राखेको थियो । भुटानलाई पूर्ण दबाबमा राखेको भएपनि नेपालले थप गोल गर्ने राम्रो अवसर भने खेर फालेको थियो । यता, भुटानले भने एक पटक पनि नेपालको पोष्टमा प्रहार गर्न सकेन । नेपालले अब समूह चरणको अन्तिम खेलमा १६ तारिखमा बंगलादेशसँग खेल्नेछ ।