नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ज्यामिरेमा नवनिर्मित आठकोठे विद्यालय भवन हस्तान्तरण

ओखलढुङ्गान्युज, पुष २६, ओखलढुङ्गा । भुकम्पवाट क्षति भएको विद्यालयहरुको पूननिर्माणको क्रम अन्तिम चरणमा पुगेको छ । पुननिर्माणको कामलाई सकाएर विद्यालयका भवनलाई समुदायमा हस्तान्तरण हुन थालेको छ । यसै क्रममा बुधवार सिद्धिचरण नगरपालिकाको वडा नं. ९ ज्यामिरेको कुन्ता माद्यमिक विद्यालयमा बनेको नयाँ ८ कोठे पक्की भवनलाई एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ ।

बुधवार कुन्ता माद्यमिक विद्यालय ज्यामीरेमा आयोजित एक कार्यक्रममा भवनको उद्घाटन सगै संघिय प्रतिनिधीसभाका सांसद माननिय यज्ञराज सुनुवार र जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई ओखलढुङ्गाका ईकाई प्रमुख दामोदर रेग्मीले भवन हस्तान्तरणको प्रमाणपत्र विद्यालय व्यबस्थापन समितिका अध्यक्ष पहलमान खड्का र प्रधानाध्यापक उद्धव बहादुर खड्कालाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।

विद्यालय भवनको उद्घाटन पश्चात हस्तान्तरण गर्दै संघिय प्रतिनिधीसभाका माननिय सांसद यज्ञराज सुनुवारले भुकम्प पछि जिल्लाका धेरै विद्यालयहरुको भवन क्षतिग्रस्त भएको र निर्माण कार्य समयमा नै सम्पन्न हुन नसक्दा समस्या भैरहेको बताउनुभयो । यसैक्रममा यस कुन्ता माद्यमिक विद्यालय ज्यामिरेको भवन निर्माण कार्य सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दै समयमा निर्माण कार्य सम्पन्न गर्न लागिपर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । तर पछिल्ला दिनहरुमा भवन निर्माणको कार्य सम्पन्न भएर समुदाय विद्यालयमा हस्तान्तरण हुन थालेपछि विद्यालयको केही समस्याहरु हल हुने भन्दै आगामी दिनहरुमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नतर्फ सबैको ध्यानजान जरुरी रहेको बताउनुभयो ।

२०७२ बैशाखमा गएको भूकम्प पश्चात ओखलढुङ्गामा पूर्ण क्षतिको सूचिमा परेका २ सय ६१ विद्यालय मध्ये करीब १ सय पचास विद्यालय पुननिर्माणको क्रममा छन् भने केही विद्यालय पुननिर्माणको लागि सम्झौता हुने क्रममा छन् । २०७४ बैशाख २४ गते सम्झौता भएर पुननिर्माणको क्रममा रहेका कुन्ता माद्यमिक विदयालय ज्यामीरेको निर्माण कार्य करीब २ वर्षमा सम्पन्न भएको हो । भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रदेश सभाका माननिय सांसदद्वय अमिरबाबु गूरुङ, मोहन कुमार खड्का हिमशिखर, नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठ, उपमेयर ईच्छा कुमारी गूरुङ, नेकपाका केन्द्रिय सदस्य किशोर अधिकारी, नेपाली कांग्रेसका जिल्ला सभापती प्रदिप कुमार सुनुवार लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला कार्यक्रम कार्यान्वयन ईकाई शिक्षा ओखलढुङ्गाको १ करोड ४ लाख ७६ हजारको आर्थिक तथा प्राविधिक सहयोगमा सुविधायुक्त पक्की भवन निर्माण सम्पन्न भएको डिएलपीआईयु शिक्षा ईकाई ओखलढुङ्गाका ईञ्जिनियर सविन लामाले जानकारी दिनुभयो । विद्यालयको निर्माणको लागि आर्थिक तथा प्राविधिक सहयोग डिएलपीआईयू शिक्षा ओखलढुङ्गाले गरेको भएपनि निर्माण कार्यभने विद्यालय व्यबस्थापन समितिले नै गरेको हो ।

विद्यालय निर्माणको क्रम ढिलाई भएको भन्दै समयमा नै निर्माण कार्य सम्पन्न गराउनका लागि सोच नेपालको सहयोगमा ज्यामीरेमा गठन भएको ज्यामीरे साझाबोली रेडियो श्रोता समूहका सदस्यहरुले सम्बन्धित निकायको बेलाबेलामा वडा अध्यक्ष दान बहादुर बानिया मार्फत ध्यानाकर्षण गराउदै आएको समूहका अध्यक्ष टोकल श्रेष्ठले बताउनुभयो । विद्यालय भवन निर्माण सम्पन्न भएसगै अब विद्यालयको पढाईको गुणस्तरलाई कसरी सुधार गर्न सकिन्छ भनेर रेडियो श्रोता समूह मार्फत छलफल पनि चलाउदै गरेको उहाँले जानकारी दिनुभयो ।