नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

मोलुङ गाउँपालिका विद्यार्थी भर्नादर सुनिश्चितता गाउँपालिका घोषणा

ओखलढुङ्गान्युज, भदौ २४ प्राप्चा । मोलुङ गाउँपालिकालाई ३–१६ उमेर समूहको भर्नादर सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । जिल्लाको मोलुङ गाउँपालिकाको कार्यालयको आयोजनामा आज (आईतवार) गाउँपालिकामा आयोजित एक कार्यक्रमका बिच उक्त घोषणा गरिएको हो ।

भर्नादर सुनिश्चितता घोषणा कार्यक्रमलाई गाउँपालिका क्षेत्रभित्रका विभिन्न शिक्षक, शिक्षक अविभावक संघका अध्यक्ष, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष, श्रोत व्यक्तिहरुले सम्बोधन गरेका थिए । घोषणा सभालाई सम्बोधन गर्दै शिबदुती माद्यमिक विद्यालयका प्रधानाध्यापक शिव प्रसाद नेपालले पूर्ण भर्नादर सुनिश्चितता गाउँपालिका घोषणा गरेर मात्रै ढुक्क भएर बस्न सक्ने वातावरण नभएकोले दक्ष र सक्षम जनशक्तिको उत्पादनमा लाग्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै विद्यालयमा बच्चाहरु आएर पढ्न सक्ने वातावरणको सृजना गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

त्यस्तै शहिद आदर्श क्याम्पस रामपुरका निमित्त प्रधानाध्यापक रमेश कुमार दाहालले अबका दिनहरुमा विद्यालयहरुले भर्नादर सगै कक्षा छाड्ने दर पनि शुन्य वनाउन तर्फ लाग्नुपर्ने बताउनुभयो । शिक्षाको मिसन ०७३–७५ लाई सफल बनाउन पनि शिक्षण सिकाई उपलब्धीलाई बढाउने तर्फ सबैको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

कालिका माद्यमिक विद्यालय भालुथुम्का श्रीचौरका प्रधानाध्यापक खिलक कार्कीले जिल्ला शिक्षा कार्यालयवाट विगतका दिनहरुमा छात्रवृति तथा पाठ्यपुस्तक वापतको रकम भुक्तानी गर्दा अपुरो गर्ने गरेको गुनासो समेत गर्नुभयो । सरकारको नीति अनुसार नै भर्नादरलाई सुन्य बनाउन केही विद्यार्थीको अविभावकत्व ग्रहण समेत गरेर विद्यालय भर्ना गरिएपनि उनीहरुलाई विद्यालयमा नै टिकाई राख्न विद्यालयमा निकासा हुने रकम अपुरो भएका कारण समस्या भएको बताउनुभयो । आगामी दिनमा शिक्षा मार्फत बार्षिक कार्यक्रम तथा योजना बनाउदा त्यसको कारणको खोजी गरि गाउँपालिकाले प्राबिधिक शिक्षालाई समेत जोड दिनुपर्ने बताउनुभयो ।

संस्थागत विद्यालय सञ्जालका सदस्य खिलानाथ दाहालले सामुदायीक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र विद्यालयको शिक्षामा गुणस्तर कायम गर्न शिक्षक र अविभावको भूमिका स्पष्ट गराई गाउँपालिकाले शिक्षा नीति बनाउनुपर्ने बताउनुभएको थियो ।

शिक्षक अविभावक संघका अध्यक्ष दिर्घ कटवालले विद्यार्थी भर्नादर गाउँपालिका घोषणाको कार्यक्रम अलिक हतारोमा गरिएको हो कि भन्ने आफुलाई महसुस भएको भन्दै मोलुङ गाउँपालिकाको केही वडाहरुमा अझै समस्या रहेको बताउनुभयो । पूर्ण सुनिश्चितता गाउँपालिका घोषणा भएसगै यसलाई निरन्तरता दिन गाउँपालिका अन्तर्गतका वडा अध्यक्षहरुले विशेष अभियान सञ्चालन गर्न कटवालले आग्रह गर्नुभयो ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष एकराज दाहालले यो कार्यक्रम आफुलाई नाटक जस्तो मात्रै लागेको बताउदै तथ्यांक तथ्यपरक नभएको आरोप लगाउनुभयो । यथार्थपरक तथ्यांकले मात्रै बास्तविक समस्या पत्ता लागि भविष्यको योजना निर्माणमा सहयोग सिद्ध हुने बताउदै त्यसतर्फ सबैको ध्यान जानुपर्ने उहाँको भनाई थियो । विद्यालयमा भर्ना हुने, छात्रबृति लिने तर विद्यालय नियमित जाने विद्यार्थीको सख्या कम रहेको बताउदै यसलाई कसरी भर्नादर सुनिश्चितता गाउँपालिका भन्न मिल्छ कि मिल्दैन भन्ने उहाँले प्रश्न समेत गर्नुभयो ।

सामुदायीक विद्यालयको गुणस्तरका कारण नागरिकहरु आफैले सामुदायीक विद्यालय सकाउने काम भएकोले सामुदायीक विद्यालयको शिक्षाको गुणस्तर कायम गरि त्यसको सबैले संरक्षण र सुरक्षा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । घोषणा कार्यक्रम आज भएपनि एकवर्ष भित्र यो कार्यक्रमको लक्ष्य अनुसार प्रगती गर्न सबैले लाग्नुपर्नेमा पनि अध्यक्ष दाहालले अनुरोध गर्नुभयो ।

त्यस्तै विद्यालयहरुको नियमित अनुगमन गरि राम्रलाई पुरस्कार नराम्रालाई दण्डको व्यबस्था गर्नुपर्नेमा जिवन प्रदिप माद्यमिक विद्यालयका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कुल बहादुर खत्रीले अनुरोध गर्नुभयो ।

खिजिदेम्बा गाउँपालिकाका शिक्षा शाखा प्रमुख एवम् श्रोत व्यक्ति जीवन नेपालले विद्यार्थी भर्नादरलाई सुनिश्चितता गर्ने सम्बन्धमा महिला स्वास्थ्य स्वयम सेविकाहरुसँग सिक्नुपर्ने बताउनुभयो । जन्मेका सबै बच्चाहरुले समयमा नै सबै खोप लगाउन चाही सफल हुने तर सबै बच्चाहरु विद्यालयमा भर्ना चाही हुन नसक्ने भन्दै सबैले तनमन लाएर काम गरे असफलता भन्ने कुरा केही नरहेको बताउनुभयो ।

भर्ना सुनिश्चितता गाउँपालिका भएकोमा सबैलाई धन्यवाद दिदै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णहरि पौडेलले आगामी दिनहरुमा गाउँपालिकावाट हुने सबै कामहरु कार्यबिधिलाई टेकेर त्यही अनुसार गर्न सबैलाई आग्रह गर्नुभयो । पौडेलले आगमाी दिनमा गरिने सबै कार्यक्रम सञ्चालन गर्न आवश्यक नीति तथा कार्यबिधी तयार गरिने बताउनुभयो । ओखलढुङ्गाको मोलुङ गाउँपलिकामा मात्रै नभई देशैभर शिक्षामा केही समस्या देखिएको बताउदै प्रशासकिय अधिकृत पौडेलले आवश्यक छलफल गरेर नीति तथा कार्यबिधी बनाउदै सोही अनुसार कार्यक्रम सञ्चालन गर्न सबैलाई आग्रह गर्नुभयो ।

सामुदायीक विद्यालयको पढाई स्तर कमजोर भएकोले विद्यार्थी भर्नादर र टिकाई सामुदायीक विद्यालयमा कम रहेको भन्दै यसलाई यसै आर्थिक वर्षभित्र समाधान तर्फ लाग्न गाउँपालिकाका सबै विद्यालयका प्रधानाध्यापकहरुलाई गाउँपालिकाका अध्यक्ष मणि कुमार राईले अनुरोध गर्नुभयो । गाउँपालिकाले सबै प्रधानाध्यापकहरुको परीक्षा लिईरहेको भन्दै यो शैक्षिक सत्र सम्पन्न भएसगै गाउँपालिकाको शिक्षाको क्षेत्रमा धेरै परिवर्तन गर्न गाउँपलिका लागि रहेको बताउदै त्यस कार्यका लागि गाउँपालिकाले केही दिनमा नै अनुगमन कार्यको थालनी गर्ने बताउनुभयो ।

२५–३० हजार सरकारी तलब खाने शिक्षकले पढाएको विद्यार्थीको शैक्षिक ग्रेड कम आएको र १५ हजार भन्दा कम तलब खाने निजी क्षेत्रमा पढाउने शिक्षकले पढाएको विद्यार्थीको चाही शैक्षिक ग्रेड कमी आएकोमा असन्तुष्टि जनाउदै समस्या र ग्याप कहाँ हो तत्काल पहिचान गरि अगाडी बढ्न सबै शिक्षक तथा सहभागीहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा मोलुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख एवम् श्रोत व्यक्ति रामकुमार ढकालले मोलुङ गाउँपालिकाको शिक्षाको तथ्यांक प्रस्तुत गर्नुभएको थियो । ३–१६ उमेर समूहका विद्यार्थीभर्नादर सुनिश्चितता घोषणा कार्यक्रममा करीब १ सय ५० भन्दा बढिको सहभागिता रहेको थियो । यही भदौ मसान्त सम्म देशैभर यस उमेर समूहका विद्यार्थी भर्नादर सुन्य भएको घोषणा गर्ने नेपाल सरकारको कार्यक्रम छ । यसै कार्यक्रम अनुसार ओखलढुङ्गामा पनि भदौ पहिलो हप्तादेखी दोश्रो विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन भएको थियो ।