नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

नेपालको हङकङ सग सान्त्वना जित

ओखलढुङ्गान्युज, फागुन २९ काठमाडौं  । 

विश्वकप क्रिकेट छनोटमा नेपालले सान्त्वना जित निकालेको छ । छनौट चरण अन्तर्गत नेपालले हङकङलाई पाँच विकेटले जितेको छ । १ सय ५४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४०.४ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेटाएको हो ।

नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४८ रन तथा सोमपाल कामीले अविजित ३७ रन बनाए । यसअघि नेपालका अनिल साहले २६, ज्ञानेन्द्र मल्ले १२, पारस खडका ११, दिपेन्द्रसिंह एैरी १२ र आरिफ सेखले २ रन बनाएका थिए ।

यसअघि हङकङले ४८.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । हङकङका लागि निजाकत खानले सर्वाधिक ४७ रन बनाए भने एहसान खानले २५ र बाबर हायतले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदशन गर्न सकेनन् ।

नेपालका सन्दीप लामिछानेले ३, बसन्त रेग्मी र करण केसीले २-२ , सोमपाल कामी र ललित राजवंशीले १-१ विकेट लिए । समान अंक भए पनि नेपाल रनरेटको आधारमा अफगानिस्तानभन्दा तल रहेकाले सुपर सिक्समा पुग्न सकेन ।

अब नेपालले प्लेअपका लागि पपुवा न्युगिनिसँग खेल्नेछ । हङकङसगको यो जित सगै एकदिवशीय क्रिकेटको मान्यता पाउने सम्भावालाई भने नेपालले कायमै राखेको छ ।