नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

आ.व. ०७४/७५ भित्र घरनबनाउने भूकम्पपीडितलाई सरकारले अनुदानबापतको रकम नदिने

काठमाण्डौ, साउन ३ ।
चालू आर्थिक वर्ष अर्थात २०७५ असार मसान्त भित्र निजी आवास निर्माण नगर्ने भूकम्पपीडितलाई सरकारले अनुदानबापतको रकम नदिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानबापतको सबै रकम ०७५ को असार मसान्तभित्रमा लिइसक्नुपर्ने व्यवस्था गरेको हो । त्यसपछि भने प्राधिकरणले भूकम्पपीडितलाई अनुदानबापतको कुनै पनि रकम दिनेछैन ।

सरकारले भूकम्पपीडितको निजी आवास निर्माण गर्न प्रतिघर तीन लाख रुपैयाँ दिने व्यवस्था गरेको छ । प्राधिकरणका सहायक प्रवक्ता डा. भीष्म भुसालले ०७५ पछि प्राधिकरणको निर्धारित काम सकिने भएकाले त्यसपछि अनुदानबापतको रकम दिन नसकिने बताए । उनले भने प्राधिकरणको समयावधि निर्धारित छ। ०७५ असार मसान्तसम्म पुनर्निर्माणको काम सक्नुपर्नेछ। त्यसो हुँदा अनुदानबापतको रकम पनि त्यही समयावधिभित्र लिइसक्नुपर्नेछ। त्यसपछि प्राधिकरणले अनुदान रकम वितरण बन्द गर्छ।

निर्धारित कार्यतालिका अनुसार पहिचान भएका सबै लाभग्राहीले आगामी कार्तीक मसान्तभित्र पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ लिइसक्नुपर्नेछ । यस्तै चैत मसान्तभित्र दोस्रो किस्ता र आगामी असार मसान्तभित्र अन्तिम किस्ताको रकम लिइसक्नुपर्नेछ।

भुकम्प गएको २६ महिना वितिसक्दा पनि भुकम्प पिडीत लाभग्राहीहरुले पहिलो किस्ता वापतको रकम लिए पनि घर निर्माण कार्य सुरुवात गरेका छैनन भने कतिपय लाभग्राहीहरुले पहिलो किसता वापतको रकम समेत बुझेका छैनन् ।