नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

आज गुरु पूर्णिमा, कसलाइ गुरु मान्ने ?


असार २५, ओखलढुङ्गा ।

आज असार २५ अर्थात गुरुपूर्णिमा । चलनचल्तीको पात्रोअनुसार आषाढशुक्ल पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ । यो दिन ज्ञान दिने गुरुको पूजा गर्ने वा सम्मान गर्ने परम्परा छ । यसै दिन पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती मनाइन्छ । गुरुपूर्णिमामा अहिले गरिनेजस्तो विधान भने वेद, पुराण आदि शास्त्रमा पाइँदैन।

स्वाद्ध्यायशालाबाट प्रकाशित ‘वैदिक हिन्दु धर्मसंस्कृति’ पुस्तकअनुसार व्यासपूजा र गुरुपूजा बर्षाका समयमा एक ठाउँमा बस्ने अर्वाचीन वैष्णव, शैव सन्यासीहरूको परम्पराबाट आएको हो । मठमा एकत्रित भएर गुरुको पूजा गरी चार महिना (चर्तुमास) भरि सँगै बस्ने कर्मको अङ्ग हो । निर्णयसिन्धु र धर्मसिन्धुमा पनि यो विषयको उल्लेख छ ।

शास्त्रज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने वैदिक मान्यता छ । वैदिक परम्परामा व्यक्तिको चरित्रनिर्माण र ज्ञानप्राप्तिमा माता पिता र गुरुको मुख्य भूमिका रहने मानिएको छ ।

माता–पिता–गुरुलाई देवतासरह मान वा मान्ने होऊ । यो वेदको उपदेश हो । शास्त्रज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने वैदिक मान्यता छ । वैदिक परम्परामा व्यक्तिको चरित्रनिर्माण र ज्ञानप्राप्तिमा माता पिता र गुरुको मुख्य भूमिका रहने मानिएको छ ।

निष्काम भावले विद्या प्रदान गर्नेलाई गुरु भनिन्छ । हृदयको अन्धकार हटाउने विद्या मात्र ‘विद्या’ हो । विद्यामा पारङ्गत गराउने गुरु हुन् र गुरुको अनादर गर्नेको विद्या स्थिर रहँदैन भन्ने शास्त्रको मान्यता छ । गुरुको मार्गदर्शनविना वा पुस्तकको आधारमा मात्र प्राप्त गरिएको ज्ञानलाई मान्यता दिइएको छैन । एकै अक्षर सिकेको किन नहोस् गुरुको सम्मान गर्दैन भने उसलाई पशुभन्दा पनि नीच मान्नुपर्ने चाणक्यको भनाइ छ ।