नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

लाहानकाे अवैध स्वास्थ्य संस्थामा जनस्वास्थ्यको छापा 

अस्पताल संचालकहरु अनुगमन टोली आइपुग्नु अगावै अस्पतालमा ताल्चा मारेर फरार

लहान, जेठ २० ।

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जिल्लाका विभिन्न ठाउँमा संचालित पोलिक्लिनिक, अस्पताल र औषधि पसलहरुमा अनुगमन गरेको छ । कार्यालयको टोलीले शनिबार दिउँसो सिरहाको मिर्चैया क्षेत्रमा संचालित निजी स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको हो ।

मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य संस्थाको खेलवाडले कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले तथा त्यस्ता संस्थाहरुलाई कानुनी दायरामा ल्याउन अभियान थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा। चुमनलाल दासले जानकारी दिए । अनुगमन टोलीले मिर्चैयाका आधा दर्जनभन्दा बढी स्वास्थ्य संस्था र औषधि पसलमा छापा मारी कागजात खोज्दा अधिकांश स्वास्थ्य संस्था गैरकानुनी रुपले संचालन गरेको पाइएको प्रमुख डा। दासले बताए ।

जनस्वास्थ्य कार्यालयको अनुगमन टोली मिर्चैया आएको सुइँको पाए लगत्तै अधिकांश अस्पताल, पोलिक्लिनिक र औषधि पसल बन्द गरी संचालकहरु फरार भएका थिए । मिर्चैयाकै ठूलो मानिने मिर्चैया अस्पताल, मेरी गोल्ड लगायतका अस्पताल संचालकहरु पनि अनुगमन टोली आइपुग्नु अगावै अस्पतालमा ताल्चा मारेर फरार भएको पाइएको अनुगमन टोलीले जनाएको छ ।

मिर्चैयाको कटारी चोकमा संचालित वीरेन्द्र चौधरीको पोलिक्लिनिक दर्ता नगरी संचालन भइरहेको पाइएको टोली प्रमुख डा।दासले बताए । कानुनी प्रकृया पूरा नगरी अन्य सेवाहरु समेत संचालन गरेको पाइएकोले एक हप्ताभित्र कानुनी दायरामा नआए अवैध पोलिक्लिनिकहरुमा तालाबन्दी गर्ने चेतावनी दास नेतृत्वको अनुगमन टोलीले दिएको छ । टोलीले मिर्चैयाको पश्चिम बस स्टेण्ड नजिक रहेको गोल्डेन मेमोरियल क्लिनिक गैरकानुनी रुपमा संचालन गरिएकाले तत्काल बोर्ड हटाई क्लिनिकमा तालाबन्दी समेत गरेको छ।

जिल्लामा हालसम्म ६० वटा मात्र कानुनी रुपमा पोलिक्लिनिक र अस्पतालहरु संचालन छन् । यद्यपि कानुनी मापदण्ड भने कसैले पूरा नगरेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । पछिल्लो समयमा केही ब्यक्तिहरुको कमाई गर्ने उचित थलोको रुपमा स्वास्थ्य संस्थाहरु बन्दै आएका छन् । त्यस्ता स्वास्थ्य संस्थाहरुले सेवाग्राहीहरुलाई सेवा भन्दा पनि पैसा अशुल्ने थलोको रुपमा प्रयोग गर्दै आएका छन् । दर्ता तथा कानुनी मापदण्ड विना सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आउनेहरुको मृत्युको खबरहरु बाहिर आउन थालेका छन् ।

पछिल्लो चैत ८ गते सिरहाको कर्जनहा गाउँपालिका २ बन्दीपुरस्थित अवैध रुपले संचालन गरिएको राइन मेडिकेयरमा अनुहारमा डण्डीफोर निको बनाउने नाममा शल्यक्रिया गरिएकी महिलाको मृत्यु भएपछि जनस्वास्थ्य कार्यालय जिल्लामा अवैध रुपले संचालित स्वास्थ्य संस्थाहरुको अनुगमनमा कस्सिएर लागेको छ । कर्जनहा गाउँपालिका २ घर भएकी करिब २५ वर्षीया रेखादेवी मुखियाको अनुहारको शल्यक्रिया गर्दा अत्यधिक रक्तश्राव भई निधन भएको थियो ।