नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

बिपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. आचार्यलाई काम गर्न बाटाे खुला

डा. विजयचन्द्र आचार्य

काठमाडौं- सर्वोच्च अदालतले चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेको छ।

डा. आचार्य विरुद्ध परेको रिटमा बुधबार न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले अन्तरिम आदेश दिन नपर्ने आदेश गरेपछि उनले कार्यकारी प्रमुखका रुपमा नियमित कामकाज गर्न पाउने भएका छन्। डा. आचार्यविरुद्ध अस्पतालमा कार्यरत डा. अनिलविक्रम कार्की, डा. लक्ष्मीनारायण सिंह, डा. कृष्णसागर शर्मा, डा. बालकृष्ण थापा, डा. देजकुमार गौतम, डा. विजयराज न्यौपान लगायतले सोमबार सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। उनीहरुले आफूभन्दा कनिष्ठ र कम अनुभवीलाई निर्देशक बनाएको भन्दै निर्देशकबाट हटाउन मागदाबी गरेका थिए।

सर्वोच्चले उक्त रिटमाथि थप छलफल गर्न भन्दै विपक्षीलाई छलफलका लागि समेत बोलाउने निर्णय गरेको छ। अस्पताल सञ्चालक समितिको २४ गतेको बैठकले डा. आचार्यलाई निर्देशकमा नियुक्त गरेको थियो। समितिले निर्देशकमा खुला रुपमा दरखास्त आह्वान गरेको थियो। प्रतिस्पर्धामा आएकामध्ये कार्ययोजना र अन्तर्वार्ताका आधारमा उत्कृष्ट रहेका डा. आचार्यलाई समितिले छनोट गरेको हो। १३ जना चिकित्सकले कार्यकारी निर्देशक हुनका लागि आवेदन दिएका थिए। यसअघि अस्पतालकै एकेडेमिक कोअर्डिनेटर रहेका डा. आचार्य स्त्री रोगसम्बधी क्यान्सर विशेषज्ञ हुन्।