नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

एसिसी यू–१९ प्रिमियर कपको उपाधि नेपाललाई

ओखलढुङ्गान्युज, कात्तिक ७ । मंगलबार सम्पन्न भएको नेपालले एसिसी यू(१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको यूएईले ११ ओभरमा दुई विकेटको क्षतिमा ५० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । वर्षा रोकिएपछि डकवर्थ लेविस नियमका आधारमा यूएईले २७ ओभरमा एक सय ९८ रनको लक्ष्य प्राप्त गरेको थियो। तर यूएई २६ दशमलव पाँच ओभर एक सय ७८ रन बनाउँदा अलआउट भयो ।

नेपालका लागि देव खनालले सर्वाधिक एक सय रनको महत्वपूर्ण योगदान दिए । उनले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै उत्तम थापा मगरले ५७ रन जोडे भने अर्जुन कुमालले ५५ रन बनाए। अर्जुन र देवले तेस्रो विकेटका लागि एक सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरे। दीपक डुम्रेले २८ रन बनाए भने दीपेश कँडेलले १०, दीपक बोहराले पाँच, हेमन्त धामीले सात तथा विशाल विक्रम केसी तीन रनमा आउट भए ।

जवाफी ब्याटिङमा उत्रिएको यूएईले उत्कृष्ट सुरुआत गरे पनि जित हासिल गर्न सकेन । ११ ओभरको खेल सकिदा दुई विकेटको क्षतिमा ५० रन बनाउदा खेल पानीले अबरुद्ध बनाएको थियो । खेल पानीले अबरुद्ध बनाएपछि डकवर्थ लेविस नियमका आधारमा खेललाई २७ ओभरमा छोट्याईएको थियो । तरपनि यूएईले हारलाई टार्न सकेन र आफ्नो अपराजित यात्रा कायम गर्दै नेपाल विजयी बन्यो । उसका लागि ध्रुव परेशारलले सर्वाधिक ५९ रन बनाए भने कप्तान आयन खानले ३०, अर्यान्श शर्माले ३२ रन बनाए ।