नेपाली समय Loading...२०८१ जेष्ठ ८ मंगलवार

श्रमिक दिवसको अबसरमा एमालेले गर्यो तीनजना श्रमिकलाई सम्मान

ओखलढुङ्गान्युज, १९ बैशाख । आज १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवस । विभिन्न राजनीतिक दलहरूले आज देशभरि विभिन्न कार्यक्रमहरूको आयोजना गरेर श्रमिक दिवस मनाउदै छन् । श्रमिक दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुङ्गाले पनि तीनजना श्रमिकहरुलाई सम्मान गरेको छ । 

श्रमिक दिवसको अवसरमा सम्मानित हुनेहरुमा रोड छेउमा बसेर जुत्ता, चप्पल निर्माण तथा मर्मत गर्ने श्रमिक जहान सिं रम्तेल, मोटरसाइकल मिस्त्री विजय कुमार शाह, एमाले पार्टी कार्यालय सहयोगी हिरामाया गिरी रहेका छन् । उनीहरुलाई जनही नगद रु १ हजार ५ सयका साथ खादक र प्रमाणपत्रका साथ सम्मानित गरिएको हो ।

श्रमिक सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित पेशागत महासंघ नेपालका केन्द्रिय सदस्य सुदिप कार्की, विशिष्ट अतिथी सिद्धिचरण नगरपालिकाका पुर्व उपमेयर तथा नेकपा एमाले कोशी प्रदेश सदस्य इच्छा कुमारी गुरुङ, अतिथिहरु एमाले ओखलढुङ्गा उपाध्यक्ष कमल न्यौपाने, उपसचिव अस्मिता थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम नेकपा एमालेको भातृ संगठन पेशागत महासंघ नेपाल, ओखलढुङ्गा शाखाले आयोजना गरेको हो । 

दिवसको अवसरमा नेकपा एमाले ओखलढुङ्गाले सामुदायीक अस्पताल सोब्रु ओखलढुङ्गामा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।