नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

विकास र समृद्धिमा गुणात्मक फड्को मार्न सरकार केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ

ओखलढुङ्गान्युज । २० फागुन, चम्पादेवी । नेपाल सरकारका उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका लागि तीनओटै सरकारसँग समन्वय हुनु पर्ने बताएका छन् । शुक्रबार देखि जिल्लाको चम्पादेवी गाउँपालिकाको वडा नं. ९ डल्लीडाँडामा सुरु भएको प्रथम चम्पादेवी अध्यक्ष कप भलिवल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

अहिले भैरहेको विकास र समृद्धिलाई कसरी फड्को मार्ने भन्नेमा सरकार केन्द्रित रहेको भन्दै त्यसको लागि तीनओटै सरकारका बिच समन्वय हुनुपर्नेमा जोड दिएका हुन् । सरकारसँग श्रोत र साधनको अभाव तथा तीनै तहका सरकार बीचको समन्वय अभावमा नागरिकको अपेक्षा अनुसारको विकास निर्माण हुन नसकेको पनि मन्त्री श्रेष्ठले बताए ।

सबै पक्षका बिच सहमतीमा काम गर्नु आवश्यक रहेको बताउँदै मन्त्री श्रेष्ठले सहमती र सहकार्यमा मात्र विकास र समृद्धिले गुणात्मक फड्को मार्ने बताए । हाल देशमा रहेको अनियमितता तथा भ्रष्टाचार गर्नेहरु स्थापित हुने तर श्रम गर्ने, पसिना बगाउने विस्थापित हुने परिपाटीको अन्त्य गर्नु बर्तमान सरकारको कार्यभार रहेको बताए । आर्थिक प्रगतीलाई तिव्रता दिइ गुणात्मक फड्को मार्न सरकार प्रतिवद्ध रहेको पनि मन्त्री श्रेष्ठको भनाई थियो ।

गाउँपालिकाको तर्फबाट अध्यक्ष नवराज केसीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री श्रेष्ठले आफ्नै पालामा चम्पादेवीका नागरिकहरुले केही अनुभुति गर्ने गरि सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । भलिवल प्रतियोगितामा सहभागी खेलाडीहरुलाई शुभकामना दिदै मन्त्री श्रेष्ठले खेलकुदलाई राज्यले प्राथमिकतामा राखि त्यसको विकासमा राज्यले ध्यान दिने समेत बताए ।