नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

कांग्रेस नेता एवम् व्यावसायी अधिकारीले दिए २ सय विद्यार्थीलाई विद्यालय पोशाक

ओखलढुङ्गान्युज । १२ माघ, कटुञ्जे । सुनकोशी गाउँपालिका वडा नं. १० कटुञ्जेको एक माद्यमिक विद्यालयका विद्यार्थीहरुलाई कांग्रेसका जिल्ला नेता एवम् युवा व्याबसायी योगेश्वर अधिकारीले विद्यालय पोशाक वितरण गरेका छन् । आज बशन्त पञ्चमीको अबसर पारेर आयोजना गरिएको एक कार्यक्रमका बिच अधिकारीले कटुञ्जेको कुशादेवी माविका २ सय ७ जना (छात्र ९३, छात्रा ११४) विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेका हुन् ।

विद्यालय व्यबस्थापन समितिको नवनियुक्त अध्यक्ष समेत रहेका अधिकारीले कार्यक्रममा आफ्ना बुबा पदम बहादुर अधिकारी र ठूलोबुबा खिल बहादुर अधिकारी मार्फत पोशाक हस्तान्तरण गरेका हुन् । विद्यालयमा आउने छात्र छात्राहरुको पोशाकमा एकरुपता नदेखेको र सबै छात्रछात्राहरुलाई विद्यालय पोशाक वितरण गर्ने सोच आएकोले विद्यार्थीहरुलाई उपलब्ध गराएको अधिकारीले बताए । अधिकारीले सोहि विद्यालयवाट अक्षराम्भ गरेर उच्च शिक्षा हासिल गरेको तथा हाल सोहि विद्यालयको व्यबस्थापन समितिको अध्यक्ष समेत बनेका छन् ।

‘विद्यालयमा आफ्ना बालबालिकालाई पढ्न पठाएपनि कतिपय बालबालिकाका अविभावक विद्यालयको पोशाक आफ्ना बच्चाहरुलाई दिन सक्ने अबस्थामा छैनन् । विद्यालय पोशाक साथिको जस्तो नहुँदा बालबालिका हिनता बोध समेत हुनसक्छ । त्यसैले उनीहरुको पढाईमा समेत असर परिरहेको हुनसक्छ । उनीहरुको पढाईमा असर नपरोस् भनेर विद्यालयका शिक्षकहरुसँगको समन्वयमा एकै किसिमको पोशाक उपलब्ध गराएको हुँ ।’ अधिकारीले भने ।

सामुदायीक विद्यालयको सबै विद्यार्थीहरुलाई आफ्नो व्यक्तिगत खर्चमा विद्यालय पोशाक उपलब्ध गराएको भन्दै सुनकोशी गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष छविलाल धमलाले अधिकारीको मुक्त कण्ठले प्रशंसा गरे । समाजसेवी तथा दाताहरुले सामुदायीक विद्यालयमा यसै गरि साथ सहयोग र चासो गरे विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न कतिवेर पनि नलाग्ने वडा अध्यक्ष धमलाको भनाई थियो । विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि आफ्नो कार्यकालभर दिलोज्यान दिएर लागि पर्ने उनको भनाई थियो ।

विद्यालयका अध्यक्ष रहेका युवा समाजसेवी अधिकारी नेपाली कांग्रेस ओखलढुङ्गाका जिल्ला सदस्य हुन् । उनी जिल्ला सदरमुकाममा रहेको सिद्धिविनायक हार्डवेयर एण्ड सप्लायर्सका प्रोपाईटर समेत हुन् ।