नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

खेलाडीलाई सम्मान तथा पुरस्कृत गर्न प्रदेश १ सरकारको बजेट स्वीकृत गर्ने निर्णय

ओखलढुङ्गान्युज पुष, विराटनगर प्रदेश नं. १ सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक बिजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई सम्मान गर्न आवश्यक बजेट स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रि परिषदको बैठकले केही कार्यविधि सहित निर्देशिका स्वीकृत गर्नेलगायतका निर्णयहरू गरेको हो ।

मन्त्रिपरिषदको यो निर्णयपछि निर्वाचन आचारसंहिता लगायतका कारणले रोकिएको पदक बिजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम अघि बढ्ने छ । मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा प्रस्तुत सार्वजनिक सुनवाई, सार्वजनिक लेखापरीक्षण तथा सामाजिक परीक्षण कार्यविधि, २०७९ समेत स्वीकृत गरेको छ ।

यसैगरी, सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको स्थानीय तहमा अपाङ्गता सहायता कक्ष सञ्चालन सम्बन्धी कार्यविधि, २०७९, सोही मन्त्रालयको ब्रिज कोर्श तथा भाषा शिक्षण कक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक बिजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई प्रदेश खेलकुद विकास बोर्डमार्फत खर्च गर्ने गरी नगद पुरस्कारसहित सम्मान गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत निकासा भएको बजेट बैठकले स्वीकृत गरेको छ ।