नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

शिक्षा ऐनका बारेमा छलफल चलाउदै मोलुङ गाउँपालिका

ओखलढुङ्गान्युज, माघ ६ मोलुङ । मोलुङ गाउँपालिकाले ड्राफ्टको रुपमा रहेको शिक्षा ऐनको बारेमा सरोकारवालाहरुसँग छलफल गरेको छ । पालिकाले संघिय सरकार तथा प्रदेश सरकारको शिक्षा ऐन नहुदा शिक्षा नियमावलीको भरमा गाउँको शिक्षा सम्बन्धि गतिबिधी गर्दै आएको थियो । शिक्षा नियमावलीले मात्रै पालिकाको शिक्षामा रहेको समस्या र शिक्षाको गुणस्तरमा सुधार नहुने भन्दै गाउँपालिकाले यसै आर्थिक वर्षको हिउदे अधिवेशनवाट जारी गर्न लागेको शिक्षा ऐनको बारेमा छलफल कार्यक्रम सञ्चालन गरेको हो ।

संघिय सरकार र प्रदेश सरकारले समयमा नै शिक्षा ऐन नल्याउदा हाल सम्म पनि कतिपय स्थानीय तहले स्वायत्त भैकन पनि आफ्नै शिक्षा ऐन ल्याउन सकेको छैनन् । पछिल्लो समय संघिय सरकारले शिक्षा ऐन जारी गर्न तयारी गरे सगै स्थानीय तहहरुले पनि आफ्नो शिक्षा ऐन निर्माण गर्न पहल थालेका हुन् । सोही पहल अनुरुप आज मोलुङ गाउँपालिकाले तयार पारेको शिक्षा ऐनको ड्राफ्टका बारेमा सरोकारवालाहरुसँग छलफल गरि सुझाब संकलन गरेको हो ।

छलफल कार्यक्रमलाई मोलुङ गाउँपालिकाका प्रमुख मणिराज राईले सम्बोधन गर्दै राईले अहिले देशको शिक्षा प्रणाली शिक्षा ऐन २०२८ अनुसार नै रहेको भन्दैे पुरानो अबस्थाको शिक्षा ऐन तथा कार्यबिधीले अहिलेलाई सम्बोधन गर्न नसक्ने बताउनुभयो । पुरानो ऐन तथा कानूनले मात्रै शिक्षामा सुधार ल्याउन नसक्ने भएकोले नै पालिकाले शिक्षा ऐन ल्याउन लागेको पालिका प्रमुख राईले बताउनुभयो । कहि शिक्षक बढि, कहि विद्यार्थी बढि भएको तर त्यसको व्यबस्थापनका लागि शिक्षा ऐन नभएकोले समस्या सृजना हुदा शैक्षिक गुणस्तरमा समेत ह«ास आईरहेको प्रमुख राईको भनाई थियो ।

पालिकाले पहिले आफ्नै नियमावली बनेको अवस्थामा पनि केही त्रुटीका कारण समस्या भएको भन्दै त्यसैको आधारमा चुप लागेर पनि कसैले धर नपाउने र जसरी पनि शैक्षिक गुणस्तरको बृद्धिका लागि लागि पर्नुपर्ने बताउनुभयो । मोलुङको भविष्य कस्तो बनाउने भन्ने बारेमा शिक्षा ऐनले पनि महत्वपूर्ण असर पार्ने भन्दै प्रमुख राईले शिक्षा ऐनको बारेमा छलफल तथा सुझाब संकलन कार्य जारि रहेकोले विस्तृत अध्ययन गरि पालिकालाई सुझाव दिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा मोलुङ गाउँपालिकाका उपप्रमुख हेम कुमारी तामाङले मोलुङको भविष्य बनाउनका लागि तयार हुन लागेको शिक्षा ऐनको बारेमा छलफल भैरहेको भन्दै सरोकारालाहरुले स्थानीय सापेक्षता अनुसारको शिक्षा ऐन जारी गर्ने तर्फ सबैको ध्यान जानुपर्ने बताउनु भएको थियो ।

त्यस्तै जिल्ला कै नमुना माद्यमिक विद्यालय बरुणेश्वर माद्यमिक विद्यालयका प्रधानाध्यापक कुल प्रसाद खतिवडाले सरोकारवालाको सामान्य त्रुटी हुदा र गाउँ शिक्षा नियमावलीले केही पनि नबोल्दा पछिल्लो समयमा मोलुङ गाँउपालिकाको शिक्षाको क्षेत्रमा कम बजेट निकासा हुने गरेको बताउनुभयो । पालिकाको शिक्षा ऐन नहुदा पालिका भित्र प्रस्तावितका रुपमा रहेको सामुदायीक विद्यालयहरुको समस्या बढ्दै गएकोले स्थानीय भूगोलमा लागू गर्न सक्ने शिक्षा ऐन पालिकाले जारी गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै सामाजिक विकास समितिका सभापति प्रदिप कुमार बानियाले पछिल्लो समय मोलुङ गाउँपालिकाकाले शिक्षालाई प्राथमिकता दिएर लगानी गरेको भएपनि त्यसवाट उपलब्धी नदेखिएको बताउनुभयो । शिक्षा ऐनको अभावमा गाउँपालिकाले विद्यालयको अनुगमन गरेको भएपनि आवश्यक कार्वाही प्रकृया अगाडी बढाउन नसकेकोले पनि यसै हिउदे अधिबेशनवाट शिक्षा ऐन जारी गर्न लागि परेको सभापति वानियाले बताउनुभयो । हाल को, कहा र कसरी रहेको छ भन्दा पनि यसले मोलुङको भविष्य निर्धारण गर्ने भएकोले मोलुङ गाउँपालिकाले शिक्षा ऐन जारि गरेर प्रकृयाको सुरुवात गर्न लागको बताउनुभयो ।

त्यसैगरि सामाजिक विकास समितिका सदस्य एवम् मोलुङ गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हेम बहादुर सुनुवारले मोलुङ गाउँपालिकाले निर्माण गर्न लागको ऐन तथा कानूनहरुलाई स्थानीय स्तरसम्म लगेर छलफल तथा सुझाब संकलन गरि जारि गर्न लागेको बताउनुभयो । अहिले जारी गर्न लागेको शिक्षा ऐनका बारेमा हाल बरुणेश्वरमा मात्रै छलफल गरिएको भन्दै आगामी दिनहरुमा अन्यत्र क्षेत्रमा समेत छलफल चलाउने र सुझाब संकलन गरि ऐन जारी गर्ने बताउनुभयो ।

लामो समय सम्म भएको छलफल पश्चात गाउँपालिकाले तयार गरेको शिक्षा ऐनको ड्राफ्टका बारेमा छलफल गरि गाउँ पालिकाका शिक्षा शाखा प्रमुख राम कुमार ढकाल मार्फत शिक्षा ऐन ड्राफ्ट निर्माण समितिलाई सुझाब समेत दिएको छ । शिक्षा ऐनको ड्राफ्टको बारेमा छलफल कार्यक्रम मोलुङ गाउँपालिका गाउँ शिक्षा शाखा प्राप्चाको आयोजना तथा सोच नेपाल ओखलढुङ्गाको समन्वयमा सम्पन्न भएको हो ।