असोज ९ बाट देशका अधिकांश स्थानमा बर्षा, केहि स्थानमा अतिभारि वर्षा हुने
ओखलढुङ्गान्युज, ५ असोज काठमाण्डौं । आगामी असोज ९ गते अर्थात शुक्रबारबाट झण्डै चार दिनसम्म देशका केहि स्थानहरुमा भारी बर्षात देखि अति धेरै भारी वर्षात हुनसक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सूचना सहित आज शोमबारबाट विशेष मौसम बुलेटिन जारी गरेको छ । विभागले बुलेटिन जारी गर्दै आगामी बुधबार देखी पानी पर्न सुरु भएर असोज ९ गते शुक्रवारदेखि असोज ११ गते आइतवारसम्म देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित धेरै भारीदेखि अति धेरै भारीसम्म वर्षाको सम्भावना रहेको जनाएको छ।
शुक्रबारबाट गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित धेरै भारीदेखि अति धेरै भारीसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै सोहिदिन मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भारी देखि धेरै भारीसम्म वर्षा हुने तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ।
विभागका अनुसार बुधबारबाट नै देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । त्यसकारण सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने विभागको भनाई छ ।
बाढी पहिरोका कारण यातायातको साधन सञ्चालनमा अबरोध हुँदा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत क्षेत्रमा समस्या सृजना हनुसक्नेछ । नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा विभागले अनुरोध गरेको छ।

