नेपाली समय Loading...२०८३ भाद्र २६, शुक्रवार

दुधकोशी नदीको शिर पहिरोले थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 

फायल तस्वीर 

ओखलढुङ्गान्युज, २६ भदौ ओखलढुङ्गा । दुधकोशी नदीको शिर पर्ने सोलखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका २ बोदेलस्थित हुम्गाखोलामा पहिरो खसेर खोला थुनिएको छ । खोला थुनिएर ठूलो ताल बनेपश्चात ताल जुनसुकै समयमा पनि फुट्न सक्ने भन्दै दूधकोशी नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सतर्कताका अपनाउनकालागि अनुरोध गरिएको छ । 

‎‎पहिरोले खोला थुनिएपछि करिब १०० मिटर लम्बाइ र १५–२० मिटर उचाइको ताल बनेको छ । खोला थुनिएर बनेको ताल फुट्दा अचानक पानीको बहाव बढ्न सक्ने जोखिम रहेकाले खोला आसपास तथा तल्लो तटीय क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। 

‎सोलुखुम्बु जिल्लामा रहेको हुंगा खोला महाकुलुङ–२ बोदेलबाट बग्दै सोताङ र थुलुङ दूधकोशी गाउँपालिका हुँदै ओखलढुङ्गाको दूधकोशी नदीमा मिसिन्छ। त्यसैले यी क्षेत्रका खोला किनार तथा तल्लो तटीय बस्तीमा समेत विशेष सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले अनुरोध गरेको हो । 

सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीयवासीलाई खोला किनारमा नजान, पानीको बहाव बढेको अवस्थामा सुरक्षित स्थानतर्फ जान र सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।