नेपाली समय Loading...२०८३ भाद्र २६, शुक्रवार

आज बुबाको मुख हेर्ने दिन

ओखलढुङ्गान्युज, २६ भदौ । आज कुशे औंशी अर्थात बुबाको मुख हेर्ने दिन ।  वैदिक सनातन धर्मावलम्बीहरूले आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी पर्व मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाउने परम्परा रहेको छ ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिनमात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ। सनातन धर्ममा कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिन्छ ।यसै अवसरमा आज छोराछोरीले आआफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरूले विभिन्न पवित्र तीर्थस्थलमा गई आफ्ना पिताको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने गर्छन् ।

आजका दिन विशेष गरी काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण र पिण्डदान गर्ने भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ। यसैले यस औँसीलाई गोकर्णे औँसीु पनि भनिन्छ। यसैगरी रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावती लगायतका देशका विभिन्न पवित्र नदी र तीर्थस्थलहरूमा पनि तर्पण तथा सिदादान गर्नेहरूको बाक्लो उपस्थिति रहेको छ।

पितृदेवो भवः भन्ने धार्मिक मान्यताअनुरूप जीवित बाबुलाई श्रद्धापूर्वक सम्मान गरी आशीर्वाद प्राप्त गर्नाले सुख(शान्ति मिल्ने र दिवङ्गत पिताका नाममा गरिने दानतर्पणले पुण्य प्राप्त हुने जनविश्वास छ।