नेपाली समय Loading...२०८३ भाद्र २२, सोमवार

जिल्ला समन्वयमा वार्षिक समिक्षा ः पत्याएनन् समन्वय प्रमुख र सिडिओलाई

ओखलुङ्गान्युज, २२ भदौ ओखलढुङ्गा आईतबार जिल्ला समन्वय समिति ओखलढुङ्गाको सभाहलमा जिल्लामा रहेका सरकारी कार्यालय तथा स्थानीय सरकारहरुको कामको बार्षिक समिक्षा तथा असल अभ्यासको अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । समिक्षा कार्यक्रममा जिल्लाका अधिकांश सरकारी कार्यालय तथा ६ ओटा स्थानीय तहहरुले प्रस्तुती राखेका थिए ।

आफ्नो समिक्षा प्रस्तुतीमा सबै स्थानीय तहका प्रतिनिधीहरुले संघ तथा प्रदेश सरकार अन्तर्गत सञ्चालन भएका अधिकांश योजनाहरुमा आफूहरुलाई जानकारी तथा समन्वय नभएको गुनासो राखेका थिए । कार्यक्रममा उपस्थित भएका स्थानीय जनप्रतिनिधीहरुले प्रदेशबाट सञ्चालन भएका आयोजना तथा कार्यक्रममा जिल्ला समन्वयले पनि सहकार्य गरि कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने बताएका थिए ।

पत्याएनन् जिल्ला समन्वय समिती प्रमुखलाई

विगतका वार्षिक समिक्षा कार्यक्रममा संघिय सांसद, प्रदेश सांसद तथा पूर्व सांसदहरुको उपस्थिती हुने गरेको भएपनि यसपटक कार्यक्रमका प्रमुख अतिथिको रुपमा संबिधान सभा सदस्य यज्ञराज सुनुवार भन्दा बाहेक अन्य माननियहरुले उपस्थिती जनाएनन् । त्यस्तै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरुको उपस्थित हुने गरेको भएपनि यसपटक अधिकांश गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरुको उपस्थिती रहेन भने मानेभञ्ज्याङ्ग र चिशंखुगढी गाउँपालिकाले कार्यक्रममा सहभागीता नै जनाएनन् ।

वाािर्षक रुपमा स्थानीय सरकार तथा सरकारी कार्यालयहरुले गरेका असल कामको बारे जानकारी गराउनुका साथै नयाँ कुरा रहेछ भने सिकेर आफ्नामा समेत कार्यान्वयन गर्न सहयोग पुग्छ भन्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको भएपनि सहभागीता कम भएको जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले बताए । असल अभ्यासको प्रस्तुती र सिकाई तथा समस्या भए साझा मुद्धा बनाएर समाधानका लागि पहल गर्नका लागि उपयुक्त प्लेटफ्रम भएपनि सन्तोषजनक उपस्थिती नदेखिएको एक सहभागी जनप्रतिनिधीले बताए ।

पत्याएनन् प्रमुख जिल्ला अधिकारीलाई

समिक्षा कार्यक्रममा जिल्लामा रहेका कुनै सरकारी कार्यालय तथा कर्मचारीले समग्र जिल्ला हाक्ने प्रमुख जिल्ला अधिकारीलाई नै नपत्याएको पाईएको छ । जिल्लाका विशिष्ट जनप्रतिनिधीसँगै प्रमुख जिल्ला अधिकारी उपस्थित भएको सरकारी कार्यालयहरुको वार्षिक कार्यक्रमको समिक्षामा केहि कार्यालय प्रमुख बाहेक कार्यालय प्रमुख नै उपस्थित भएनन् । आसन ग्रहण पश्चात सुरक्षा निकायका प्रमुखहरु समेत कायक्रमको अबधिभर नै अघिल्लो रो मा गएनन् ।

सरकारी कार्यालयहरुको तर्फवाट भएको बार्षिक कार्यक्रम समिक्षाको बारेमा सहभागीहरुले प्रश्न गर्दा अधिकांशले उत्तर नै दिन सकेनन् । केहिले आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै टारे । अधिकांश कार्यालयले आफ्नो प्रस्तुती सक्दै हलबाट बाहिरीए । सहभागीहरुको प्रश्नको उत्तर नपाईने तथा उत्तर दिन नसक्ने प्रतिनिधीले गरेको प्रस्तुतीका कारण केहि सहभागीले भने कार्यक्रमको औचित्य माथि नै प्रश्न गर्नुपर्ने बेला भएको भन्दै असन्तुष्टि समेत ब्यक्त गरे ।

यद्यपी समिक्षा कार्यक्रमबाट ओखलढुङ्गा जिल्लामा पनि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत स्थानीय तहहरुमा अदुवा, वेसार र स्याउ जोनको कार्यक्रम विस्तार गर्न सम्बन्धित निकायमा लेखि पठाउने, सुनकोशी गाउँपालिकामा ठेक्का लिएर पनि विद्युत विस्तारको काम अलपत्र पार्ने ठेकेदारलाई आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा लेखि पठाउने जस्ता निर्णयहरु भएको लिला सुनुवारले जानकरी दिए ।