नेपाली समय Loading...२०८३ भाद्र २१, आइतवार

नेपाल सेमिफाईनलमा प्रबेश

ओखलढुङ्गान्युज, २१ भदौ काठमाण्डौं । नेपालले साउदी अरबलाई ५ विकेटले हराएसँगै एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाईनलको यात्रा तय गरेको छ । लेशियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज आईतबार भएको खेलमा नेपालले साउदी अरबलाई ५ विकेटले पराजित गर्दै तेश्रो जित दर्ता गरेर सेमिफाईनल पुगेको हो ।

आजको खेलमा टस जितेर ब्याटिङ गरेको साउदी अरब ४९ ओभर २ बलमा १९० रन बनाउँदा अलआउट भयो । साउदी अरबका अब्दुल वाहिदले ७७ रन, मुहम्मद अतिफले ३० रन बनाए । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३/३ तथा ललित राजवंशीले २ विकेट लिए ।

त्यस लगत्तै जवाफी ब्याटिङमा उत्रिएको नेपालले साउदी अरबले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर भेटायो । आजको जितमा नेपालका गुल्सन झाले नटआउट ४४, ईशान पाण्डेले ४०, देव खनालले ३९ रन बनाए । साउदी अरबका इश्तियाक अहमद र मुहम्मद अतिफले २/२ विकेट लिए ।

यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट र दोस्रो खेलमा मलेशियालाई ६ विकेटले हराएको थियो । एसीसी प्रिमियर कपमा समूह ‘ए’ मा नेपाल, बहराइन, हङकङ, मलेशिया र साउदी अरेबिया रहेका छन् ।

समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एशिया कपमा स्थान बनाउनेछ । प्रतियोगिताको फाइनल खेल यही भदौ २७ गते शनिवार हुनेछ ।